बागलुङ, १९ माघ । सबै चलचित्र रमाइलोमा सीमित हुन्नन्, ज्ञानका स्रोत पनि हुन्छन् भन्ने प्रमाण यहाँका एक बालकले दिएका छन् । चर्चित भारतीय चलचित्र ‘थ्री इडियट्स’ हरेपछि बागलुङ नगरपालिका–२ का रिवाज श्रेष्ठलाई ‘क्वाडकप्टर’ बनाउने प्रेरणा जाग्यो । जुन उनले चलचित्रमा उडाएको देखेका थिए ।
हेलिकोप्टरजस्तो प्रविधिमा आधारित ‘क्वाडकप्टर’ श्रेष्ठले बनाएनन् मात्र उडाउनसमेत सफल भएका छन् । श्रेष्ठले क्वाडकप्टरलाई नमुना हेलिकोप्टर भनेका छन् । स्थानीय सिद्धार्थ शिक्षा सदन कक्षा ८ मा अध्ययनरत १३ वर्षीय श्रेष्ठ उल्लेखनीय कार्य गरी अहिले प्रशंसा बटुलिरहेका छन् ।
विद्यालयमा पहिलोपटक श्रेष्ठले ‘क्वाडकप्टर’ उडाउँदा विद्यार्थी, शिक्षक र अभिभावक आश्चर्यमा परे । श्रेष्ठले विभिन्न प्रविधि अपनाएर ‘क्वाडकप्टर’ बनाएका हुन् । ‘क्वाडकप्टर’मा रहेको चारवटै पङ्खामा एक हजार १०० केभीको मोटर जडान भएको श्रेष्ठले बताउनुभयो । जसले एक मिनेटमा एक हजार १०० पटक पङ्खा घुमाउने गरेको छ ।
त्यस्तै २.६ र २.२ एम्पिएरका दुईवटा ब्याट्री जडान गरिएको छ । चार महिना समय खर्चिएर बनाएको ‘क्वाडकप्टर’ ३० मिटर उचाइ र त्यत्तिकै टाढासम्म उड्ने उनको भनाइ छ । नमुनास्वरुप सानो आकारमा बनाइएको ‘क्वाडकप्टर’को आकार र क्षमता पनि बढाउन सकिने श्रेष्ठले बताउनुभयो । “त्यसका लागि उपकरणको समेत क्षमता बढाउनुपर्छ, अहिले सानो ब्याट्री, मोटर भएकाले धेरै माथि र परसम्म उड्न सक्दैन”–श्रेष्ठले भन्नुभयो ।
‘क्वाडकप्टर’मा प्लास्टिकका सामग्री, ब्याट्री, इएससी, फ्लाइट कन्ट्रोलर, रिसिभर, पावर कन्ट्रोलरलगायत सामग्री तथा उपकरण प्रयोग गरिएको श्रेष्ठले जानकारी दिनुभयो । ती सामग्री काठमाडौँबाट झिकाएको श्रेष्ठले बताउनुभयो । ‘क्वाडकप्टर’मा टेलिभिजन ‘लाइभ टेलिकास्ट’ गर्न मिल्ने एफइबी क्यामेरासमेत जडान गरेको उनको भनाइ छ ।
कन्ट्रोलरबाट ‘क्वाडकप्टर’लाई उडाउन र अवतरण गर्न मिल्ने श्रेष्ठले बताउनुभयो । “सफल रूपमा क्वाडकप्टर उडेपछि म एकदमै खुसी छु, ज्ञान र प्रविधिको सहयोगमा आफ्नो मिहेनत र परिश्रमले आज यो सफल भयो”–श्रेष्ठले भन्नुभयो । श्रेष्ठले क्वाडकप्टरमात्रै होइन लाइट डिटेक्टिभ, टान्जिस्टर, लिड बल्भ, ब्याट्रीलगायत सामग्री प्रयोग गरी अँध्यारोमा आफँै बल्ने ‘डार्क सेन्सर’समेत बनाएका छन् ।
“यो अँध्यारोमा आफैँ बल्ने र उज्यालोमा निभ्ने बत्ती हो”–श्रेष्ठले भन्नुभयो । श्रेष्ठले वोम रोबर्ट, मिनी हाइड्रो पावर परियोजना, क्याटा पोल्ट, इलेक्ट्रिक कार, इलेक्ट्रिक ब्रस र ह्याट फ्यानसमेत बनाएको बताउनु भयो । यी सामग्री विद्यालयले समेत आफ्नो कक्षमा प्रदर्शनमा राखेको छ । श्रेष्ठ सानैदेखि जिज्ञासु स्वभावका थिए ।
भविष्यमा इन्जिनियर बन्ने उनको सपना छ । “नयाँ अनुसन्धान गर्न र बनाउन मलाई एकदमै मन पर्छ, आफ्नो पढाइसँगै यो क्षेत्रमा पनि काम गरिरहनेछु”–श्रेष्ठले भन्नुभयो । विद्यालय प्रशासनले पनि श्रेष्ठको सीप र प्रतिभालाई कदर गर्ने जनाएको छ ।
विद्यार्थीको क्षमता पहिचान गर्न सीप र प्रस्तुतिमा आधारित अतिरिक्त क्रियाकलाप गर्दै आएको विद्यालयका प्रबन्ध निर्देशक गणेश थापाले बताउनुभयो । त्यसका लागि विद्यालयले विषयगत शिक्षकको पनि व्यवस्था गरेको छ । श्रेष्ठलाई विद्यालयले यो वर्षको ‘इनोभेटिभ अवार्ड’ समेत प्रदान गरेको छ । रासस