केही वर्षअघिसम्म डाक्टर (चिकित्सक) पढ्न सीमित धनाढ्यहरूको मात्रै पहुँचको विषय थियो । नेपाली विद्यार्थी भारत, बङ्गलादेश वा अन्य तेस्रो मुलुक गएर महँगो खर्चमा डाक्टरी पढ्न बाध्य थिए । नेपालमा चिकित्सा विषयमा अध्ययन अध्यापन गराउने एक/दुई विश्वविद्यालय थिए तर ती सबै राजधानीमा मात्र सीमित थिए । तर आजकल समय फेरिएको छ । अब नेपालमै थोरै खर्च गरेर गुणस्तरीय पढाइको अवसर लिएर अनुकूल वातावरणमा डाक्टर बन्न पाइन्छ । नेपालमै खुलेका निजी र सरकारी मेडिकल कलेजहरूमा चिकित्सा क्षेत्रका विभिन्न विधामा पढाइ हुन थालेपछि सर्वसाधारण नेपालीका छोराछोरी पनि धमाधम डाक्टर बनेर बिरामीको सेवा गर्ने आफ्नो सपना पूरा गर्न लागिपरेका छन् ।
चिकित्सा क्षेत्रका विभिन्न विधामा पठनपाठन सञ्चालन गराएर नेपालबाटै डाक्टर र स्वास्थ्यकर्मीहरू उत्पादन गर्ने धेरै शैक्षिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । तीमध्ये धरानको घोपामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर छोटै समयमा लोकप्रिय भइसकेका शैक्षिक प्रतिष्ठानमा पर्दछ । यो प्रतिष्ठान सरकारीस्तरबाट ठूलो लगानीमा सञ्चालनमा आएको अन्तर्राष्ट्रियस्तरको मेडिकल कलेज हो । नोबेल चाहिँ निजीस्तरबाट सञ्चालनमा आएको कलेज हो । यसबाहेक यसै वर्ष सम्बन्धन लिएको विराटनगरको टङ्कीसिनवारी गाविस–१ मा रहेको विराट कलेज पनि सञ्चालनमा आइरहेको छ ।
पहिले नेपालमा रहेका सरकारी स्वास्थ्य शैक्षिक प्रतिष्ठानमा मात्र स्वास्थ्य विज्ञान पढाइ हुने गर्दथ्यो । तीमध्ये काठमाडौँको टिचिङ अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानसहित भरतपुर र नेपालगन्जमा रहेका अस्पतालहरू हुन् । यता नेपाल मेडिकल काउन्सिलबाट निजी क्षेत्रले पनि चिकित्सा क्षेत्रमा शिक्षण गराउने अनुमति पाएपछि धमाधम निजी उच्चस्तरीय स्वास्थ्य विज्ञापन पठनपाठन गराउने कलेजहरू खुलिरहेका छन् ।
काठमाडौँ विश्वविद्यालयबाट अनुमति लिएर पोखरामा मणिपाल कलेज स्थापना भएपछि देशका अन्य भागमा पनि निजी क्षेत्रका चिकित्सा क्षेत्रमा अध्ययन अध्यापन गराउने कलेज खुल्न थालेका हुन् । जसअन्तर्गत विराटनगरमा रहेको नोबेल अस्पताल एण्ड रिसर्च सेन्टर र टङ्कीसिनवारी–१ मा रहेको विराट मेडिकल कलेज पनि हुन् ।
जति टाढाको देशको डिग्री लेखेको देख्यो उति राम्रो डाक्टर होला भन्ने पुरानो सोचाइ पनि अब फेरिएको छ । नेपालमै भौतिक पूर्वाधार सम्पन्न मेडिकल कलेजहरू खुल्न थालेपछि अब नेपालमै गुणस्तरीय डक्टरी पढाइ हुन सक्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । बरु विभिन्न शैक्षिक कन्सल्टेन्टहरूको प्रभावमा परेर चीन, भारत, लण्डन, अमेरिका गएर अध्ययन गर्नेहरूले भन्दा कम खर्चमा पूर्ण वातावरणमैत्री भएर नेपालमै डाक्टरी पढाइ गर्न पाइन थालेको छ ।
विज्ञहरूका अनुसार नेपालमै चिकित्सा विषय अध्यापन गराउने प्राध्यापकहरू उत्पादन भइसकेका छन् र केही विदेशी विशेषज्ञहरूलाई पनि ल्याएर अध्यापन गराउनका लागि वातावरण सहज बनिसकेको छ ।
नोबेल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर पठनपाठन गराउने कलेजहरूमा उत्कृष्टमा पर्न सक्नु पनि यही कारण हो । पूर्वका नोबेल र बिपी प्रतिष्ठानले भारत मात्र नभएर तेस्रो मुलुकका विशेषज्ञ (प्रोफेसर डाक्टर) हरू ल्याएर अध्यापन गराइरहेका छन् । विराटको पनि योजना यस्तै रहेको छ ।
आफ्नै सुविधा सम्पन्न लोकप्रिय अस्पताल भएको, दक्ष प्रोफेसरहरू, होस्टल र प्रयोगशालाको विशेष सुविधा आदि विभिन्न कारणहरूले गर्दा बिपी र नोबेल मेडिकल कलेज सुविधा सम्पन्न मानिएका छन् । भर्खरै सम्बन्धन लिएको विराटको सुविधा पनि प्रतिस्पर्धी नै रहने देखिन्छ । हाल पूर्वका बिपी र नोबेलमा काठमाडौँ, जनकपुर, सप्तरी, सिरहा, मोरङ, झापा, सुनसरी, इलाम, तेह्रथुमदेखि भारतको राजस्थान, हैदरावाद, उत्तर प्रदेश र विहार राज्यबाट भर्ना भएका विद्यार्थी कोही नर्स बन्न त कोही डाक्टर हुन अध्ययनरत छन् ।
नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्ध निर्देशक सुनिल शर्माका अनुसार आफ्नै देशमा अध्ययन गर्दा आफ्नो देशको भूगोल सुहाउँदो हुन्छ । विदेशमा बढीजसो सैद्धान्तिक तवरको पढाइ हुने र आफ्नो देशका मानिसमा सुहाउँदो बिरामीका बारेमा उति धेरै प्रयोगात्मक रुपले दक्ष हुन नपाइने भएकाले नेपाल र भारतमा बसेर बिरामीको सेवा गर्नेहरूले नेपालकै कलेजहरूमा डक्टरी पढ्नु उत्तम हुन्छ ।
विराट मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की पनि आफ्नै देशमा सञ्चालन भएको केलेजमा पढ्दा वातावरण सहज हुने र घरमा बसेर समयअनुसार पढ्न पनि सकिने भएकाले विदेशमा भन्दा स्वदेशमै पढ्नु उत्तम हो भन्नुहुन्छ ।
नेपालमा पढ्दा गाउँघर सहर बजारमा पैदा हुने वातावरणीय सङ्क्रमणहरूसँग समेत परिचित हुने र प्रयोगात्मक सेवामा प्रत्यक्ष सहभागी हुने अवसर मिल्ने डा कार्कीको भनाइ छ ।
सन् २००७ बाट निजी क्षेत्रबाट पूर्वमा पहिलोचोटी एमबिबिएस कक्षा सुरु गरेको नोबेल मेडिकल कलेजले एमडी पनि गराउन थालेको छ । करिब एक हजार १०० विद्यार्थी अध्ययन गर्न थालेको यस कलेजमा आवश्यकताअनुसार विभागहरू पनि थपिँदै जान थालेका छन् । हाल मानसिक विभाग स्थापना भई व्यवस्थित उपचार पनि सुरु भइसकेको छ । यसका साथै बिडिएस र बिएस्सी नर्सिङ कक्षा पनि सञ्चालन भरहेका छन् ।
यसबाहेक सिटिभिटीबाट सञ्चालित डिप्लोमा इन फार्मेसी, पिसिएलनर्सिङ, रेडियोलोजिस्ट र सिएमएलटी विषयमा कक्षा सञ्चालनमा छन् । सन् १९९३ मा स्थापना भएपछि पटक–पटक आफ्नो सेवा र शैक्षिक पाठ्यक्रमको विषयमा स्तरोन्नति गर्दै आएको धरानस्थित बिपी प्रतिष्ठानले पनि स्वास्थ्य विज्ञानमा स्नातक र स्नातकोत्तर तहको पठनपाठन गराउँदै आएको छ ।
बिपीको वेबसाइटमा उल्लेख भएअनुसार यहाँ पब्लिक मेडिसिन, सर्जरी, नर्सिङ र पब्लिक हेल्थ विषयमा पढाइ हुँदै आएको छ । यहाँबाट बर्सेनि ३०० चिकित्सक उत्पादन हुँदै आएका छन् । बिपीबाट बिडिएस, एडिएस, एमडिएमएस, डिएम र एमसिएच विषयमा डाक्टरहरू उत्पादन हुँदै आएका छन् । भर्खरै सम्बन्धन लिएर सञ्चालनमा आउने तीव्र तयारीमा रहेको विराट कलेजले पनि बिएस्सी र नर्सिङ कक्षाहरू सञ्चालन गराउन थालेको छ । यसबाहेक बिरामीलाई प्रारम्भिक उपचार सेवा पु¥याउन पूर्वका अस्पतालले गाउँ–गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छन् ।
शिविर सञ्चालन गर्नेहरूमा विराटनगरस्थित नोबेल मेडिकल कलेज अग्रपङ्क्तिमा आउँछ । यस अस्पतालले ग्रामीण क्षेत्रमा एक्सरे र ल्याब सेवा अनि निःशुल्क औषधिसहित उपचार सेवा पु¥याउँदै आएको छ । पूर्वका अस्पतालमा अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, आमा सुरक्षा कार्यक्रम, डट्स र कुष्ठ रोग, खोप, यौन, परिवार नियोजन, पाठेघरलगायतका उपचार पनि सरकारसँगको सहकार्यमा सञ्चालन गरिरहेका छन् ।
यहाँका मेडिकल कलेजले आफ्नो भौतिक संरचना र अन्तङ्ग विभागको उपचार व्यवस्था अन्तर्राष्ट्रियस्तरको बनाउँदै लगेका छन् । प्रायः तीनवटै मेडिकल कलेजमा उपचारका लागि दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, स्तरीय औजार, गुणस्तरीय ल्याब निर्माण गरिएका छन् । यी कलेजमा आइसियु, एनआइसियु, सिसियु, पिआइसियु, इसआइसियु पनि स्थापना गरिएका छन् । अस्पतालहरूमा आकस्मिक कक्ष, प्रसूति सेवा, रेडियोलोजी र रक्तदान सेवा २४सै घन्टा सञ्चालनमा रहेका पाइन्छन् ।
अस्पतालमा मधुमेह, ल्यापरोस्कोपी, मूत्र प्रणाली, मुटु र मानसिक रोगलगायत विभिन्न रोगको परामर्श र उपचार सेवा पनि सहज बनाइएको छ । अस्पतालले सरकारको सहकार्यमा स्वास्थ्य उपचारसँग सम्बन्धित छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरेका छन् ।
पूर्वमा सञ्चालन भइरहेका राष्ट्रिय अन्तर्राष्टियस्तरका मेडिकल कलेजले आफ्नै सुविधा सम्पन्न भवनमा अन्तरङ्ग र बहिरङ्ग सेवा दिइरहेका छन् । यी सबै कलेजका अस्पतालमा चिकित्सा स्वास्थ्य विज्ञान अध्ययन गर्नका लागि आवश्यक इमर्जेन्सी, अन्तरङ्ग, रेडियोलोजी र प्याथोलोजी, विभिन्न शल्यक्रिया, एनेस्थेसिया, पेडियाट्रिक, इएनटी, मेडिसिन, प्लास्टिक सर्जरी, युरोलोजी, अर्थोपेडिक, गाइनो, साइकियाट्रिक र सर्जरी सेवाहरू सञ्चालनमा रहेका पाइन्छन् ।
सबै अस्पतालले सरकारले प्रदान गरेका मातृ सुरक्षा, पाठेघर, मिर्गौलाको रगत डायलासिसलगायतका स्वास्थ्य सेवा कार्यक्रम पनि आफ्नो अनुकूल सञ्चालन गर्ने गरेका छन् ।धरानको बिपी र विराटनगरको नोबेल देशमै सबैभन्दा बढी बिरामी उपचारका लागि आउने अस्पतालका रुपमा कहलिन्छन् । सबै अस्पतालले इमर्जेन्सी, ओपिडी र इन्डोर (अन्तरङ्ग र बहिरङ्ग) सेवा सञ्चालन गरेका छन् ।
अस्पतालमा जनरल फिजिसियन, मानसिक, नाक–कान–घाँटी, आँखा, हाडजोर्नी, मानसिक, प्रसूतिलगायत १० वटा विभाग सञ्चालन गरेर आउटडोर र इन्डोर सेवासमेत दिइरहेका छन् । अस्पतालमा रहेका सिटिस्क्यान र इन्डोस्कोपी र अन्य जाँचका लागि पनि आधुनिक उपकरणहरू भएकाले विद्यार्थीलाई प्रयोगात्मक पढाइका लागि उपयोगी भइरहेको छ । सञ्चालन भइरहेको धरानस्थित बिपी प्रतिष्ठान दक्षिण एसियाकै स्तरीय कलेज मानिन्छ ।
नोबेलले पनि चाँडै आफूलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पु¥याउने लक्ष्य लिएको छ । निजी भएर पनि सरकारी शुल्ककै हाराहारीमा उपचार प्रदान गर्नु आफ्नो विशेषता रहेको नोबेलको दाबी छ । यस्तै यो अस्पतालमा अरु अस्पतालमा नभएको एक सय शय्याको सघन (आइसियु) उपचार कक्ष र अरु अस्पतालमा भन्दा धेरै उपचारका लागि क्याबिनहरू पनि रहेका छन् ।
यता विराट मेडिकल कलेजले चाहिँ विराटनगरमा आफ्नो नर्सिङ होमलाई स्तरोन्नति गरेर विराट अस्पताल सञ्चालनमा ल्याएको छ । यहाँ टेष्टट्युब बेबीको प्रविधि पनि सञ्चालनमा छ । खास गरी स्त्री रोगका लागि पनि यो अस्पताल चर्चित छ । सन् १९९३ बाट सञ्चालनमा आएको बिपी प्रतिष्ठान पनि स्त्री रोग (प्रसूति) मात्र नभएर अन्य खालका स्वास्थ्य उपचार सेवा अरु कलेजको भन्दा अब्बल रहेको दाबी गर्दै आएको छ ।
सन् २०६१ पुसदेखि सञ्चालनमा आएको नोबल मेडिकल कलेजबीच व्यवस्थापन समस्यामा फसेर चाहेजस्तो विकास गर्न सकेको थिएन । तर पछि एकल रुपमा व्यवस्थापन सञ्चालन हुन थालेपछि यो कलेज आफ्नो सेवा र शैक्षिकस्तरमा उत्तरोत्तर प्रगति गर्न सफल भइरहेको छ ।
कलेजले उपचार र पठनपाठनको गुणस्तरमा उल्लेख्य सुधार ल्याउन सकेकाले अस्पतालमा उपचार गराउन आउने बिरामी र अध्ययन गर्ने विद्यार्थीको चाप बढिरहेको अस्पतालका प्रबन्धक नारायण दाहाल बताउनुहुन्छ । धरानको बिपी र विराटनगरको नोबेल र विराट अस्पतालमा उपचार गराउन आउने भारतीय बिरामीको सधैँ घुइँचो हुने गर्छ । भारतको विहार राज्यका जिल्ला अररिया, पूर्णिया, सुपौल, मोतिहारी, गोपालगन्ज, भागलपुरलगायतका जिल्लाबाट बिरामी उपचार गराउन आउने गरेका छन् ।
दुवै कलेजले स्वास्थ्य विज्ञान अध्ययन गराउँदा नेपाली र भारतीय नै प्राथमिकतामा पर्ने गरेका छन् । भर्खरै सञ्चालनमा आइरहेको टङ्कीसिनवारीस्थित विराट मेडिकल कलेजमा पढ्न आउने विद्यार्थी र सञ्चालन भइरहेको विराट अस्पतालमा उपचार गराउन आउने बिरामी पनि अरु दुई कलेजबाट भिन्न हुँदैनन् । रासस