काठमाडौँ, २० माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा(एकमहिना) सम्म चलेको श्री स्वस्थानीको कथा तथा व्रत आज समापन भएको छ । विशेषगरी काठमाडौँको पूर्व–उत्तरी भेग साँखु, शालीनदी, गोकर्ण, पाशुपत आसपास क्षेत्र तथा शिव, पार्वती, गोमा, नवराज, दक्षप्रजापतिलाई स्वस्थानीको कथा बनाई प्रस्तुत गरिएको कथा मानव समुदायका लागि प्रेरणादायी र शिक्षाप्रद छ ।
विशेषगरी हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि पवित्र भई व्रत बस्ने, एक महिनासम्म मध्याह्नमा कथा श्रवण गरी आज १०८ नैवेध, प्रसाद, फूल अक्षता, बेलपत्र, जौ, तिल तथा पान, सुपारी सङ्ग्रह गरी साङ्गे गर्ने चलन छ । यसो गर्दा पूण्य भई परिवारमा सुख, शान्ति तथा समृद्धि र पारिवारिक मेलमिलाप कायम हुने विश्वास गरिएको छ ।
त्यस्तै यो एक महिनाको अवधिमा साँखुस्थित श्री माधवनारायण तथा स्वस्थानी व्रत मेला लागेकामा विधिपूर्वक आज त्यसको पनि समापन गरिएको छ । यसवर्ष उक्त स्थानमा २३७ व्रतालुले व्रत बसेका थिए । श्री माधवनारायण तथा स्वस्थानी तथा शाली नदी सुधार समितिले मेलाको तथा व्रतालुको व्यवस्थापन गरेको थियो ।
समितिका महासचिव रामकृष्ण मालीले स्वस्थानीको कथामा दक्ष प्रजापतिले अश्वमेघ यज्ञ गरेको स्मरण गर्दै सोही विधिअनुसारको पूजा सरजाम तयार गरी यज्ञ पूर्ण गरिएको जानकारी दिनुभयो । चाँदीको घोडा बनाई अश्वमेघ यज्ञ गरेपछि व्रतालुले विधिपूर्वक साङ्गे गरी व्रत समापन गरेका थिए ।
स्थानीयवासी सरिता तिवारीले यस अवधिमा करिब २५ लाख भक्तजन तथा तीर्थालुले मेला भरेको भन्दै मेला समापन गर्न अघिल्लो दिन त्यस क्षेत्रको चारै दिशाका देवीदेवतालाई विधिपूर्वक निम्तो गरेपछि उनीहरूको सहभागितामा यज्ञ भई मेला विसर्जन गरिएको बताउनुभयो ।
त्यसैगरी पशुपतिलगायतका नदी क्षेत्रमा पनि व्रतालुले स्वस्थानीको कथा समापन गरेका थिए । रासस