शौचालय सुविधाले नालाका विद्यालयमा पठनपाठनमा सहजता

समाचार

नाला, (काभे्र) २१ माघ । काभे्रपलाञ्चोक जिल्लाको नाला गाविसका सबै विद्यालयहरूमा शौचालयको राम्रो प्रबन्ध भएकाले ती विद्यालयहरूको पठनपाठनमा निकै सजिलो भएको छ ।

यस गाविसमा छवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालय छन् । ती सबै विद्यालयहरूमा छात्र र छात्रा गरी करिब दुई हजार विद्यार्थी पठनपाठन गर्दछन् । जसमा आधाभन्दा बढी छात्राहरूको सङ्ख्या रहेको छ ।

विद्यालयका कक्षाकोठा र हातामा अलगअलग डष्टबिनहरू राख्नुको साथै सरसफाइसम्बन्धी सामग्रीहरू वितरण गरिएको छ । चण्डेश्वर उच्चमाविमा छात्र र छात्राहरूका लागि अलग्गै शौचालयको व्यवस्था रहेको प्राचार्य राजेन्द्रकुमार बज्राचार्य बताउनुहुन्छ ।

यहाँका विद्यालयमा शुद्ध खानेपानीको सुविधा पनि उपलब्ध भएकाले विद्यार्थीहरूलाई पानी खान पहिलेको जस्तो टाढा भौंतारिनुपर्ने वाध्यता छैन । प्रत्येक विद्यालयमा खानेपानी शुद्धीकरणका लागि फिल्टरको व्यवस्था गरिएको छ । विद्यार्थी र शिक्षकलाई सरसफाइसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

महिनावारी हुँदा छात्राहरूका लागि छुट्टै शौचालय नहुँदा र पानीको अभावमा विद्यालय नआउने वा पढ्न छाड्ने समस्या पनि अहिले यहाँका विद्यालयहरूमा कम भएको स्प्रिङ हिल बोर्डिङ स्कुलका प्राचार्य उत्तरकुमार राई बताउनुहुन्छ । पहिले स्थानीयवासीमा पनि स्वास्थ्य र सरसफाइको महत्वका बारेमा जानकारी नहुँदा आफ्ना छोराछोरीहरूलाई विद्यालयमा पठाउने वा उनीहरूको पढाइप्रति गम्भीर नहुने अभिभावकहरू अहिले विद्यालयलाई अध्ययनमैत्री बनाउन जस्तेसुकै सहयोग गर्न पनि तयार रहेको उहाँको अनुभव छ ।

वाटर एड नेपालको सहयोगमा नाला खानेपानी तथा सरसफाई परियोजना सुरु भएपछि स्थानीयवासीको सरसफाइ र वातावरणप्रति सचेतना आएको छ । खुल्लारुपमा दिसापिसाव गर्ने प्रचलन पूर्णरुपमा बन्द भएको छ । यहाँका सबै घरमा पक्की शौचालय निर्माणसँगै विद्यालयहरूमा पनि छात्र र छात्राहरूका लागि अलग्गै शौचालयको व्यवस्था गरिएको नाला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

शिक्षा विभाग र युनिसेफको अध्ययनमा नेपालका विद्यार्थीहरूमध्ये ४३ प्रतिशत छात्र र ३१ प्रतिशत छात्राको मात्र शौचालयमा पहुँच रहेको देखाएको छ । विद्यालयमा चर्पीको उपयुक्त व्यवस्था हुँदा पढ्न जाने उमेरका विद्यार्थीहरू विशेषगरी छात्राहरूको उपस्थिति वृद्धि भएको छ । विद्यालय हाताभित्रै शौचालय निर्माण भएपछि कक्षा छाडेर सुरक्षित स्थानमा दिसापिसाव गर्न जानुपर्ने वाध्यता नभएको स्प्रिङ हिल बोर्डिङ स्कुलकी कक्षा १० कि छात्रा सजना जिसी बताउँछिन् ।

विद्यालयमा शौचालय र खानेपानीको आधारभूत सुविधा हुनुपर्नेमा सरकार पनि गम्भीर देखिएको छ । चौथो दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) मा प्रत्येक नयाँ बन्ने तथा हाल सञ्चालनमा रहेका विद्यालयहरूमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्नुका साथै किशोरीका लागि महिनावारी सरसफाइमैत्री शौचालयको व्यवस्था गर्नेतर्फ नेपाल सरकारले प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, साकोसानको पाचौँ सम्मेलनमा विद्यालयहरूमा बालबालिका र अपाङगमैत्री सुविधा र महिनावारी सरसफाइको उचित व्यवस्थापनका साथै यसको गुणस्तर, वनावट, आपूर्ति र अनुगमनलाई पनि प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ ।

विद्यालय क्षेत्र सुधार योजना २००९–२०१५ ले विद्यालयहरूमा विद्यार्थीका विभिन्न आवश्यकताको परिपूर्ति गर्न आवश्यक पर्ने आधारभूत कुराहरूको व्यवस्था गराउने उद्देश्य लिएको छ । राष्ट्रिय सरसफाइ गुरुयोजना २०११ ले पूर्ण सरसफाइ भन्नाले वस्ती, टोल, विद्यालय, गाविस, नगरपालिका, जिल्लामा सरसफाइका सुविधा स्वच्छता प्रवद्र्धन तथा बानी व्यवहारमा सरसफाइयुक्त अवसर हासिल गर्नुलाई जनाएको छ ।

हाल नेपालमा २९ हजार सामुदायिक विद्यालय छन् । मनाङ जिल्लामा मात्रै यो मापदण्ड पूरा भएको छ भने जाजरकोटमा केबल १० प्रतिशत विद्यालयमा मात्र छात्राका लागि अलग्गै शौचालय रहेका छन् । शिक्षा विभागको २०१३ को प्रतिवेदनमा नेपालमा ६९ प्रतिशत सामुदायिक विद्यालयमा मात्र छात्राको छुट्टै शौचालय रहेको छ भने ८० प्रतिशत विद्यालयमा कम्तिमा एक मात्र शौचालय रहेको पाइन्छ ।

नेपालका ६४ प्रतिशत सामुदायिक विद्यालयमा चर्पीको व्यवस्था भएको पाइन्छ । सामुदायिक विद्यालयमा सरदर १६६ छात्राले एक शौचालय प्रयोग गर्दछन् । २०१७ सम्म हरेक ५० छात्राका लागि एक शौचालयको अवधारणाअनुसार ६६ हजार ८०१ वटा शौचालय निर्माण गर्नुपर्ने हुन्छ । रासस

Post Comment