मुक्तिनाथमा पर्यटक सूचना केन्द्र सञ्चालनमा

समाचार

मुस्ताङ, २१ माघ । पर्यटकको सहजताका लागि जिल्लाको मुक्तिनाथमा सूचना केन्द्र सञ्चालनमा आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले कात्तिक अन्तिम सातादेखि सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । पर्यटकीय जिल्ला मुस्ताङको भम्रण र राउण्ड अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने र पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको एक्याप मुस्ताङका प्रमुख विदुर कुईंकेलले जानकारी दिनुभयो ।

“सूचना केन्द्रमा पर्यटकको तथ्याङ्क पनि राखिन्छ, खासगरी मनाङ र डोल्पा क्षेत्रबाट आएका पर्यटकलाई यसले सहयोग पुग्ने अपेक्षा छ”–उहाँले भन्नुभयो ।

केन्द्रमा अहिले दुई कर्मचारी राखिएको र थप जनशक्तिको व्यवस्था गर्ने तयारी भइरहेको एक्यापले जनाएको छ । सूचना केन्द्रबाट थोराङला पास, लोमान्थाङलगायत पर्यटकीयस्थलको भम्रणमा आउने पर्यटकलाई मौसमको अवस्थासँगै पदमार्ग, भूगोल, आवास सुविधालगायतका सूचना प्रदान गरिँदै आएको छ ।
–ः ७ ः–

प्राकृतिक रुपमा हुनसक्ने सम्भावित दुर्घटनाबाट पर्यटकलाई जोगाउन र तत्काल उद्धार तथा पर्यटकको एकीन विवरण राख्न सूचना केन्द्रले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटकको एकीन तथ्याङ्क राख्न नसक्दा गत असोजमा हिमपातमा परी थोराङलापास क्षेत्रमा थुप्रै विदेशी पर्यटकको ज्यान गएको थियो । एक्यापले लोमान्थाङमा भ्रमण जाने पर्यटकको सङ्ख्या भने कागबेनीमा सङ्कलन गरिरहेको छ । रासस

Post Comment