राष्ट्रपतिबाट संस्कृतिविद् जोशीलाई रोटरी अवार्डको सम्मान

समाचार

काठमाडौँ, २३ माघ । राष्ट्रपति डा रामवरण यादवले संस्कृतिविद् सत्यमोहन जोशीलाई आज शीतल निवासमा आयोजित विशेष समारोहबीच ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स पुरस्कार’ बाट सम्मान गर्नुभयो ।

Joshi Honor with Rotary Awardरोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको रु १० लाखको सो पुरस्कार कला, संस्कृति र अनुसन्धानमा विशेष योगदान दिएबापत जोशीलाई प्रदान गरिएको हो । जोशीले गत महिना नई प्रकाशनबाट ‘शताब्दी पुरुष’को उपाधि पाउनुभएको थियो । जोशीले तीनपटकसम्म मदन पुरस्कार पाइसक्नुभएको छ ।

रोटरीलाई नेपालमा भित्र्याउने स्व गोपालराज भण्डारीको स्मृतिमा स्थापित सो पुरस्कार यसअघि डा रामकण्ठ कामाजु श्रेष्ठ र डा सुरेशराज शर्माले पाइसक्नुभएको छ । कार्यक्रममा राष्ट्रपति डा यादवले रोटरीको पहलमा दक्षिण पूर्वी मुलुकहरु पोलियोमुक्त भएको चर्चा गर्दै शान्ति र शिक्षाको विकासमा पनि यो संस्थाले योगदान दिँदै आएको चर्चा गर्नु भयो ।

उहाँले शनिबारदेखि रोटरीको आयोजनामा हुने विश्व शान्ति सम्मेलनको सफलताको कामना गर्दै राष्ट्र निर्माणमा हरेक संस्था र व्यक्तिको उत्तिकै भूमिका हुने बताउनुभयो । रोटरी इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष ग्यारी सिके ह्वाङले नेपालका रोटरियनले सामाजिक क्षेत्रमा चालेका कदममा आफ्नो सहयोग रहने विश्वास दिलाउनुभयो ।

पुरस्कृत व्यक्तित्व जोशीले स्वास्थ्य लाभको कामना गरीरहेको समयमा प्राप्त पुरस्कारले आफूलाई आफ्नो क्षेत्रमा थप कार्य गर्न प्रोत्साहन मिलेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालगायत छनोट समितिका सदस्य पूर्वमन्त्री ऋद्धिबाबा प्रधान, पूर्वसचिव सुशील घिमिरे, डा साफल्य अमात्य, संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतम र राजीवराज भण्डारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो । रासस

Post Comment