फागु गीत ओझेलमा पर्दै

समाचार
जनकपुरधाम, २५ माघ । धनुषा जिल्लाको पूर्वी सिमानासँग जोडिएको सिरहा जिल्लाको बेल्हा गाउँ विकास समिति वडा नं ८ तिलासी गाउँ बस्ने बद्री सदा मुसहर मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी हुनुहुन्छ ।
यसको एउटै कारण हो – परापूर्वकालदेखि ग्रामीण क्षेत्रमा रहेको दलान संस्कृति हराउँदै गएकाले होलीमा गाउने फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउने फागु गीत ग्रामीण क्षेत्रबाट हराउन थालेकामा ५० वर्षीय बद्री दुखित हुँदै भन्नुहुन्छ – “पहिले गाउँ–गाउँ, टोल–टोल घुमेर फागुपर्वको आगमन भइसकेको गीतमार्फत जनाउ दिने गर्थें, तर अब न त ढोल, मृदङ्ग नै बजाउन पाइयो न त फागु गीत नै गाउन पाइयो ।”
“पुरानो सामाजिक संरचना ध्वस्त भई यसको स्थानमा आधुनिकता र यान्त्रीकरण हावी हुँदा फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो,” मैथिली भाषाका साहित्यकार श्यामसुन्दर शशि भन्नुहुन्छ – “वैदेशिक रोजगार र आधुनिक शिक्षाका लागि ग्रामीण क्षेत्रबाट लाखौँको सङ्ख्यामा युवा विस्थापित भएर यस्तो समस्या आएको हो ।”
समाजमा पहिले दलान संस्कृति व्याप्त थियो । टोलभरिका पुरुष दलानमा बस्ने र टोली बनाएर फागु गीत गाउने परम्परा रहिआएको थियो । तर अब समयको परिवर्तनसँगै दलान संस्कृति हराउन थालेको प्रत्यक्ष प्रभाव होली गीतमा पर्न गएको छ ।
  ‘जोगिरा सररर…
कौनतालपर ढोलक बाजे, कौन ताल मृदङ्ग
  कौन तालपर गौरिया नाचे कौन तालपर हम’
  जोगिरा सररर…
यस्ता गीत, ढोल, मृदङ्ग र डम्फुको स्वर अब विरलै सुन्न पाइन्छ । जनकपुर उपमहानगरपालिका–२३ बिन्धीका मोहम्मद इसराइल भन्नुहुन्छ – “पहिलेपहिले गाउँको बीचमा रहेको वरपिपलको चौतारा, ब्रह्मस्थानमा गाउँका मानिस भेला भएर रातिसम्म जोगिरा गीत गाउँथे । तर अब यस्ता पौराणिक गीत विरलै सुन्न पाइन्छ ।”
सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुको रौनकता हराउँदै गएकामा ८५ वर्षीय सत्यनारायण ठाकुर पनि चिन्तित हुनुहुन्छ । “होलीको पौराणिकता अब कहाँ रह्यो ? दिनहुँजस्तो हुने झैझगडाले गर्दा न त अब होलीको रौनकता नै बाँकी रह्यो न त यसमा भएको माधुर्यता नै,” उहाँले भन्नुभयो ।
अबको होली प्रेम र सद्भावको नभएर बैराग्य र बैमनस्यतापूर्ण बन्दै गएको छ । भाङको ठाउँमा मदिरा, प्रेम सद्भावको ठाउँमा द्वेष देखापरेकाले जोगिरा गीत पनि प्रभावित भई रङ्गबिनाको होली र माधुर्यबिनाको जोगिरा हुन गएको छ । फागुपूर्णिमाको पहिलो दिन अर्थात् चतुर्दशीको रात होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस त्यहाँ भेला भएर मृदङ्ग, ढोल बजाई होलिका दहन गर्ने परम्परा रहिआएको छ ।
–ः १६ ः–
परापूर्वकालदेखि गाउँदै आएको जोगिरा गीत लोप हँुदै गएकामा चिन्ता व्यतm गर्दै अर्का साहित्यकार नित्यानन्द मण्डल भन्नुहुन्छ – “लोक संस्कृतिका रूपमा रहेको जोगिरालाई सरकार तथा युवापुस्ता र पुराना पुस्ताबीचको सम्बन्धले मात्र संरक्षण गर्न सकिने भएकाले यसमा सबैले जोड दिन आवश्यक छ ।”
अहिले सहर बजार तथा ग्रामीण क्षेत्रमा होली गीत जोगिरासम्बन्धी अश्लील शब्द मिश्रित भोजपुरी गीति एल्बम छ्याप्छ्याप्ती पाउनाले पनि जोगिरा संस्कृतिमाथि मार परेको छ । परापूर्वकालदेखि चलिआएको मौलिक जोगिरा गीतमा पाइने मिठास आधुनिक गीतहरूमा नभेटिने बूढापाकाहरू बताउँछन् । रासस

Post Comment