म्युनिख, ६ फागुन । दोस्रो विश्वयुद्धपछि उत्तर एटलान्टिक सन्धि अनुमोदन भएपछि र युरोपसँग हाम्रो सम्बन्ध प्रगाढ भएको केही वर्षपछि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले सरलतासाथ भन्नुभएको थियो, “एटलान्टिक समूहमा आबद्ध मुलुकहरूले जति घनिष्ठताका साथ मिलेर शान्तिका लागि काम गर्नेछन्, त्यति नै सबैतिर सबै मानिसको भलो हुनेछ ।”
धेरै दशक बिते, उहाँको त्यस भनाइलाई विविध गतिविधिले सत्य प्रमाणित ग¥यो । साथै, जतिजति आन्ध्र महासागरका दुई किनाराको सम्बन्ध बलियो र व्यापक बन्यो, त्यतिकै मात्रामा युरोप, संयुक्तराज्य अमेरिका र विश्वभर लोकतन्त्र, समृद्धि र स्थायित्व कायम हुनसक्यो ।
तर, आज एटलान्टिक महासागरका दुई किनाराको सम्बन्ध जति बलियो र जटिल छ, हाम्रो साझेदारीका निमित्त निर्णायक क्षणको बीचमा हामी रहेको कुरामा अब कुनै सन्देह रहेन । हामीले एकभन्दा बढी परीक्षाको सामना गरिरहेका छौँ, खासगरी दुईवटा ध्यान दिनयोग्य विषय छन्, किनभने तिनीहरूले अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय संयन्त्र, तथा विश्वव्यापी शान्तिको परीक्षा लिइरहेका छन् । यी तीन पक्षको निर्माण र व्यवस्थापन गर्न हामीले बितेका ७० वर्ष व्यतित गरेका छौँ ।
पहिलो परीक्षा स्वाभाविक रूपमा युक्रेन हो, जहाँ रसियाका कारण पूर्वी र मध्य युरोपको सुरक्षा परिदृश्यमा खतरा उत्पन्न भएको छ । रुसले क्रिमियामाथि अवैध कब्जा जमाएको छ र अहिले पूर्वी युक्रेनलाई अस्तव्यस्त तुल्याउन सक्रिय छ ।
यही चुनौतीको सेरोफेरोमा हालै मैले किभमा युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को, प्रधानमन्त्री आर्सेनी यात्सेन्युक, विदेश मन्त्री पाब्लो क्लिमकिनसँग भेट गरेको थिएँ । जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सेली राष्ट्रपति फ्राँस्वा ओल्यान्डले यही सिलसिलामा किभ र मस्कोको भ्रमण गर्नुभएको थियो । यी भ्रमण युक्रेनमा जारी सशस्त्र द्वन्द्व रोक्ने योजनाका साथ भएका थिए । हामी सबै एकमत छौँ – सैन्यबलले यो चुनौतीलाई अन्त्य गर्न सक्दैन, कुटनीतिका माध्यमबाट मात्र त्यो सम्भव छ ।
तर यस कार्यमा जति ढिलाइ हुन्छ, त्यसबाट सिर्जित दुस्परिणाम रुसले भोग्नेछ, यो बाहेक विश्व समक्ष अरु कुनै विकल्प छैन । अमेरिका, फ्रान्स, जर्मनी र हाम्रा सहयोगी राष्ट्र युक्रेनको समर्थनमा अझ एकताबद्ध हुनेछन् र युरोप होस् वा अन्यत्र, सैन्यबलको आधारमा अन्तर्राष्ट्रिय सीमा परिवर्तन गर्न सकिन्न भन्ने आधारभूत सिद्धान्तको पक्षमा उनीहरू दह्रोसँग उभिनेछन् । यो आधारभूत मान्यतामा हामीमाझ कुनै पनि किसिमको मतभिन्नता छैन ।
दोस्रो मुख्य परीक्षा हिंसात्मक अतिवादको वृद्धि हो । आइसिसले हालै सार्वजनिक गरेको जोर्डनी पाइलटको निर्मम हत्यासम्बन्धी भिडियोले दुष्टताको निकृष्ट स्वरूप प्रदर्शन गरेको छ । हालै, संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनका बारेमा सबैलाई थाहा छ ः यही समूह बालबालिकालाई फाँसीमा झुण्ड्याउँछ, उनीहरूलाई जिउँदै गाड्छ र मानसिक सशक्तपना भएका साना बालबालिकालाई आत्मघाती बम हमलाकर्ताका रूपमा प्रयोग गर्छ ।
आइसिस मात्र अतिवादीको सूचीमा छैन । गत महिना, पाकिस्तानी अधिकारीले डिसेम्बरमा तालिवानीले पेसावरको सैनिक विद्यालयमा आक्रमण गरी १४५ जना (१३२ जना बालबालिका समेत) को हत्या गर्नुअघि र पछिका तस्वीर मलाई देखाएका थिए । विद्यालयको एसेम्ब्ली हल तालिवानीको आक्रमणपश्चात् मृत्युकक्षमा परिणत भएको थियो जहाँ केहीअघिसम्म विद्यार्थी ध्यानपूर्वक आआफ्ना कुर्चीमा बसिरहेका थिए – आक्रमणपछि त्यही कक्ष रगताम्य भएको थियो, फुटेका चस्मा यत्रतत्र थिए, पुस्तक छरपस्ट थिए, च्यातिएका कपडा भुइँमा थिए, मृत बालबालिकाका शरीर लडिरहेका थिए । स्कुलका प्रिन्सिपलले आफ्ना विद्यार्थी बचाउने हरसम्भव प्रयास गरेकी थिइन् । ती आक्रमणकारीले उनीमाथि पनि धाबा बोलेका थिए । मृत्युवरण गर्नुअघि उनले विद्यार्थीतर्फ देखाउँदै भनेकी थिइन्ः “म उनीहरूकी आमा हुँ ।” उनको अन्तिम वाक्य यही थियो ।
विश्वले यस्तो अतिवादको प्रतिरोध गर्नैपर्छ । साहेल, नाइजेरिया, इराक वा सिरिया जहाँसुकै यस्ता घटना भएका हुन् त्यसको विरोध गर्नैपर्छ । आज, आइसिससँग जुधिरहेको अन्तर्राष्ट्रिय गठबन्धनमा ६० भन्दा बढी मुलुक सक्रिय सदस्य छन् । सेप्टेम्बर यतामात्र, हामीले ७०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएका छौँ । हामीले आइसिसको नियन्त्रणमा रहेका २०० तेल तथा ग्यास उत्पादन केन्द्र पुनः नियन्त्रण गरेका छौँ । हामीले उनीहरूको कमान्ड संरचनामा अबरोध पु¥याएका छौँ, उनीहरूको प्रचारलाई निस्तेज बनाएका छौँ, यसका माथिल्ला नेतृत्वमा रहेका आधाभन्दा बढीलाई नियन्त्रणमा लिएका छौँ, उनीहरूको लगानीलाई खुम्च्याएका छौँ, आपूर्ति सञ्जालमा नोक्सानी पु¥याएका छौँ र यसका लडाकूलाई तितरबितर बनाएका छौँ ।
टर्कीसँग सीमा जोडिएको सिरियाको कोबानीको अवस्थामा पनि अनपेक्षित परिणाम आएको छ । आइसिसले सुरुमा कोबानी र त्यस वरपरका ३०० कुर्दिस गाउँ कब्जामा लिएको थियो । सहरको ठूलो हिस्सा उनीहरूको नियन्त्रणमा थियो । विद्रोही र विश्वका आमसञ्चार माध्यमले पनि उनीहरू नै त्यहाँ विजयी होलान् भन्ने सोचेका थिए । तर, साझेदार मुलुकबीच कुटनीतिक सहयोगलाई धन्यवाद दिनैपर्छ जसको फलस्वरूप हवाई आक्रमण तीव्र पारियो र इराकी कुर्दिस सैन्यबलले जमिनबाट पु¥याएको मद्दतले विद्रोहीलाई सहरबाट धपाउन सकियो र झण्डै एक हजार लडाकूको ज्यान गयो ।
तर आइसिसलाई परास्त गर्नु एउटा आरम्भ मात्र हो । हिंसात्मक विद्रोही विरुद्धको लडाईं युद्ध मैदानमा मात्र निर्णायक हुँदैन । यो कक्षाकोठा, कार्यस्थल, प्रार्थना कक्ष, सामुदायिक केन्द्र, र सरकारी संयन्त्रमा हुनु पर्दछ । साथै, आतङ्कवादी भर्नामा रोकावट, आतङ्कवाद फस्टाउन मौका पाउने असहिष्णुता, आर्थिक नैराश्यता तथा बहिष्करणलाई सम्बोधन, तथा हिंसात्मक आतङ्कवाद रहेका मुलुकमा विश्वसनीय, स्पष्ट र सशक्तीकरण गर्ने विकल्प सिर्जना गर्ने हाम्रा प्रयत्नको सफलताबाट यो निर्णय हुन्छ ।
हालैका वर्षमा, यस्तै किसिमका चुनौतीहरूलाई हेर्ने नयाँ फेसन बसेको छ र अन्तर्राष्ट्रिय प्रणाली नै कतिपय अवस्थामा कमजोर छ भनी वकालत गरिन्छ । मेरो यसमा विमति छ । यथार्थमा, परिस्थिति म यसको विपरीत पाउँछु । मैले नयाँ र दीर्घकालीन महत्वका व्यापारिक सम्झौतामा सहमति जनाइरहेका मुलुक देखेको छु, जसले विश्वको कुल गार्हस्थ उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा ओगटेका छन् । मैले इबोलाको भयावह अवस्थालाई अन्त्य गर्नेतर्फ मिलेर विश्वले कार्य गरिरहेको पनि देखेको छु । इरानको आणविक कार्यक्रमबाट सिर्जना भएको त्रासलाई हल गर्नेगरी एउटा शान्तिपूर्ण प्रस्तावमा काम भइरहेको छ । महत्वाकाँक्षी विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी सम्झौता गर्नेगरी साझेदारी भइरहेको म देखिरहेको छु र मध्यअफ्रिकी गणतन्त्र, कोलम्बिया र प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता देशका तनावलाई नियन्त्रणमा ल्याउन प्रयास भइरहेको मैले देखेको छु ।
हो, यी समस्या सुल्झाउनेतर्फ अहिलेको समय निकै चुनौतीपूर्ण छ । तर, मैले विश्वका कतिपय मुलुकले अति गरिबी न्यून गरिरहेको, मातृ स्वास्थ्यमा सुधार गरिरहेको, बाल पोषणमा सहयोग गरिरहेको, प्राथमिक शिक्षाको पहुँच विस्तार गरिरहेको तथा मानिसको आयु वृद्धि गराउन सफलता पाइरहेको देखेको छु । बढीभन्दा बढी मानिसले इतिहासको कुनै कालखण्डको भन्दा बढी समृद्धि हासिल गरेका छन् र हिंसात्मक आतङ्कवादले सिर्जना गरेका त्रासका बाबजुद आजको आधुनिक युगमा हिंसाबाट मृत्यु हुने मानिसको प्रतिशत न्यून स्तरमा पुगिसकेको छ । यो सबै कुरा अन्तर्राष्ट्रिय अमनचयनको सबलताकै कारण भएको हो । हामीले यो यथार्थलाई दशौँ लाख कोस टाढा रहेबसेका अनुभूति गर्ने मानिससम्म पु¥याउनु आवश्यक छ ।
हामीहरू अन्वेषक, केही गर्ने, दासता, प्लेग, अभाव, विश्वयुद्ध र अधिनायकवादको अन्त्य गर्ने मानिसका सन्तति रहेकोमा गौरवान्वित हुनैपर्छ – यी मानिस ठूल्ठुला चुनौतीसँग किमार्थ डराएनन् र जस्तोसुकै परीक्षामा उभ्याए पनि उनीहरूले आफूलाई सर्वाधिक सक्षम प्रमाणित गरेका थिए ।
अब, पालो हाम्रो हो । हामीले आज सामना गर्नुपरेको परीक्षाको घडीले हामीलाई तयारी गर्न, योजना बनाउन र एकताबद्ध बनाउन बाध्य बनाउँछ र आतङ्कवादी तथा हुल्याहाको पीडानोन्मादबाट हाम्रो साझा भविष्यलाई सुरक्षित गर्नेछ । हाम्रो भविष्य अद्यापि सभ्यता, विवेक र कानुनी शासनको विश्वव्यापी मूल्यमान्यतामा अडिएको छ । © प्रोजेक्ट सिन्डीकेट÷रासस
(लेखक म्यासाचुसेटसबाट अमेरिकी सिनेटका पूर्व सदस्य, सिनेटका विदेश सम्बन्ध समितिका अध्यक्ष तथा हाल अमेरिकी विदेश मन्त्री हुनुहुन्छ । हालै आयोजित म्युनिख सुरक्षा सम्मेलनमा उहाँले गर्नुभएको सम्बोधन भाषणबाट यो टिप्पणी तयार पारिएको हो । अनुवाद ः सोमनाथ लामिछाने)