तनहुँ १२ फागुन । तनहुँको पवित्र धार्मिक स्थल छाव्दी बाराही नजिकै रहेको छाँगामा सोमबारदेखि क्यानोनिङ खेल सुरु भएको छ । करिब ८० मिटर अग्लो चट्टानको पहरोमा डोरीको सहायताले झुन्डिँदै, हाम फाल्दै चिप्लँदै झरना र खोलाको छाँगाबाट खस्दै खेल्ने खेल सुरु भएको हो ।
जिल्लाको केशवटार गाविस वडा नं ७ मा रहेको उक्त छाँगामा छाव्दी बाराही क्षेत्रलाई धार्मिक एवम् पर्यटन क्षेत्रको रुपमा विकास गर्न छाव्दी बाराही विकास कोषले क्यानोनिङको सुरुवात गरेको हो । युनेस्को क्लब, सिद्ध गुफा साहसी खेल प्रालि, एसिया मानवअधिकार सांस्कृतिक तथा विकास मञ्च तथा नेपाल पर्वतारोही चट्टान आरोही सङ्घको संलग्नतामा आयोजित सो कार्यक्रम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रजिअ श्रेष्ठले प्राकृतिक सम्पत्तिको सदुपयोग गरी पर्यटनको विकास गर्न सकिने बताउनुभयो । क्यानोनिङ खेललाई व्यावसायिक रुपमा लैजाने हो भने केही पूर्वाधार विकास हुनुपर्छ, उहाँले भन्नुभयो, “यस्तो साहसिक खेलका लागि यो क्षेत्र जिल्लाकै उत्कृष्ट स्थान बन्न सक्छ ।” लामो समयदेखि क्यानोनिङ क्षेत्रमा काम गर्दै आउनुभएका विमलनगर निवासी लालकुमार श्रेष्ठले यो स्थान क्यानोनिङका लागि राम्रो सम्भावना रहेको बताउनुभयो । कार्यक्रम छाव्दी बाराही विकास कोषका अध्यक्ष कुलबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो । रासस