काठमाडौं जोड्ने तीन राजमार्ग पहिरोको जोखिममा

समाचार

 

road-660x330१७ साउन काठमाडौं ।    वर्षात्को बाढी र पहिरोले काठमाडौं जोड्ने मुख्य तीन राजमार्ग पटक–पटक अवरुद्ध हुने गरेका छन् । सडक विभागका अनुसार वर्षात्ले मुग्लिङ–नारायणगढ (३६ किमि), कोदारी राजमार्ग (११३ किमि) र त्रिशूली–धुन्चे–स्याफ्रुबेसी–रसुवागढी (९१ किमि) सडक धेरै अवरुद्ध हुने गरेका छन् ।

वर्षा सुरु हुनुअघिदेखि नै मुग्लिङ–नारायणगढ सडकमा यो वर्ष पटक–पटक सुक्खा पहिरो गइरहेको थियो । ‘वर्षा लागेपछि पुनः पहिरो आउन सुरु भएको र घन्टौँ सडक जाम हुने समस्या देखिएको छ,’ सडक विभागका महानिर्देशक माधव कार्कीले भने । सो सडकखण्डको विस्तारको काम भइरहेकाले पनि बढीपहिरो गएको कार्कीले जानकारी दिए ।

वर्षाले समस्यामा पारेको अर्को सडक कोदारी राजमार्ग हो । यसको अवस्था नै छिन्नभिन्न भएको र कतिपय ठाउँमा सडकको नामनिसानासमेत नभएको अवस्था छ । ‘राजमार्गको कोठे भन्ने ठाउँमा डाँडै खसेको छ,’ विभागका प्रवक्ता दयाकान्त झाले बताए । भूकम्पछि सो राजमार्गको लामोसाँघुदेखि कोदारीसम्म पूर्णतया अवरुद्ध छ । ठाउँ–ठाउँमा ‘हेबी इक्विप्मेन्ट’ लगाएर बाटो खोल्ने र सुचारु गर्ने काम भइभइरहेको छ । तर, सफल हुन नसकेको सडक विभागको स्विकारोक्ति छ ।

तेस्रो सबैभन्दा बढी समस्या त्रिशूली–धुन्चे–स्याफ्रुबेसी–रसुवागढी जोड्ने सडकमा देखिएको छ । यो सडकमा पर्ने राम्चेमा पहिरो गएकाले यो सडक अवरुद्ध छ । वैकल्पिक मार्ग प्रयोग गरेर दिनको एकदेखि दुई घन्टासम्म सडक खुलाउने गरेको प्रवक्ता झाले बताए ।

सामान्यतया वर्षात्को अवधि १५ असारदेखि २५ असोजसम्मको एक सय २० दिन मान्ने गरिएको छ । यस वर्ष जेठ अन्तिमबाटै निरन्तर वर्षा भइरहेकाले पनि बाढी–पहिरोको समस्या बढ्दै गएको हो ।