काठमाडौं, साउन २५ । पूर्व पञ्चहरुका पार्टी राप्रपा र राप्रपा नेपालबीचको एकता प्रक्रिया रद्द भएको छ । राप्रपाले सरकारमा सहभागीता जनाएको विषयलाई राप्रपा नेपालले राजनीतिक बेइमानीको रुपमा लिएपछि करिब एक वर्ष अघिदेखि अगाडि बढेको एकता प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको हो ।
राप्रपा नेपालले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरेर राप्रपासँगको एकता प्रक्रियाको अध्याय समाप्त भएको बताएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष पशुपति शमसेर राणाले अदिष्य शक्तिको इशारामा सरकारमा सहभागीता जनाउने निर्णय लिएको आरोप लगाउँदै त्यहि निर्णयका कारण एकता प्रक्रियाको अध्याय सकिएको बताउनुभयो ।
उहाँले राप्रपाका देशभरका कार्यकर्ता एकताको पक्षमा रहेको दाबी गर्दै कार्यकर्ताको भावनालाई बेवास्ता गरी अदृष्य शक्तिको प्रभावमा परेर सरकारमा दुई जना मन्त्री पठाउने निर्णय लिइ राणाले एकता प्रक्रिया भाँडेको आरोप लगाए ।
राप्रपा र राप्रपा नेपालबीच मंगलबार पार्टी एकीकरणको घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । पार्टी एकीकरणको घोषणाका लागि राष्ट्रिय सभागृहको हल बुक नै गरिएको थियो ।
तर बुक गरिएको हलमा कार्यक्रम हुन नसकेपछि राप्रपा नेपालले एउटा होटलमा पत्रकार सम्मेलन गरेर राप्रपासँगको एकीकरणको अध्याय सकिएको घोषणा गरी बलियो राष्ट्रवादी शक्ति निर्माणको अभियान जारी राख्ने बताएको छ ।