भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा

समाचार

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा पदभार ग्रहण गर्दै भूकम्पपीडितलाई पहिलो किस्ता ४५ दिनभित्र दिने निर्णय गरेका छन् ।

निर्णयमा भनिएको छ, ‘३१ जिल्लाका पाँच लाख ३३ हजार परिवारलाई स्थायी आवास निर्माणका लागि अबको ४५ दिनभत्रि पहिलो किस्ता रकम हस्तान्तरण गर्ने र पुनर्निर्माण कार्य शीघ्र कार्यान्वयन गर्ने ।’

मंगलबारसम्ममा तीन लाख १७ हजार परिवारसँग अनुदान सम्झौता भइसकेको छ ।

यस्तो छ दलहरूबीच भएको सहमति
आर्थिक वर्ष ०७३/७४ को बजेट पारित भएपछि आवास निर्माण गर्न पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा थप ५० हजार रुपैयाँ उपलब्ध गराउने । मापदण्ड पूरा गरी घर निर्माण गरिसकेकालाई भने एकमुष्ट दुई लाख रुपैयाँ दिने ।

पहिले नै ५० हजार रुपैयाँ अनुदान लिएकाले थप एक लाख पाउने, तर पहिले नलिएकालाई एकमुष्ट डेढ लाख दिने । यसका लागि घर निर्माणको प्रारूप पेस गर्नुपर्ने । दोस्रो किस्ताको बाँकी ५० हजार भने घर निर्माणको सबै काम सकिएपछि निरीक्षण गरेर उपलब्ध गराउने ।

झुटा विवरण पेस गरेर अुनदान रकम लिन खोज्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक मापदण्ड पनि बनाउने ।

भूकम्पपीडितको नाम छुटेको भए नामावली संकलन गर्ने, निष्पक्ष र पारदर्शी ढंगबाट पुनर्निर्माण अभियान साझा संकल्पका साथ अघि बढाउने ।