आजबाट गोसाईकुण्ड मेला सुरु

समाचार

Gosainkunda

काठमाडौ, साउन ३० जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईंकुण्डमा लाग्ने मेला आजबाट सुरु भएको छ ।

मेला भर्न स्वदेश तथा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट आएका भक्तजनको घुइँचो लागेको छ । गोसाईंकुण्डमा पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ ।

यो वर्ष १५ हजार जनाले मेला भर्ने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

मेलामा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उच्च भागमा पुगेपछि लेक लाग्ने समस्या तथा अन्य स्वास्थ्य समस्यालार्ई दृष्टिगत गरी चन्दनवारी, चोलाङपाटी, तथा गोसाईंकुण्डमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ ।

यस्तै समितिले घट्टेखोलाबाट गोसाईंकुण्डसम्मका होटल, लज तथा थर्पुमा मूल्यसूची निर्धारण गरेको जनाएको छ । तोकिएको मुल्यसुची भन्दा बढी शुल्क लिएमा कारबाही गरिने समितिको भनाई छ ।