काठमाडौँ, ३१ साउन – उपप्रधानमन्त्री कृष्ण बहादुर महरा आज चीन जान लागेको भएपनि अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणमा ढिलाई भएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले निधि यसै साता भारत भ्रमणमा जाने बताए ।
“यसैसाता माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको भारत भ्रमण गराउन हामी लागिपरेका छौँ, सकेसम्म चाँडो भ्रमण गराउन भारतका अधिकारीहरूसँग आग्रह गरेका छौँ”, सचिव वैरागीले भने ।
आइतबार सार्वजनिक बिदा र सोमबार भारतको ७० औँ स्वतन्त्रता दिवसको बिदा परेकाले भारत भ्रमणमा केही ढिला भएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री निधिलाई भारत र महरालाई चीन पठाउने बिहिबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।