लस एन्जेल्स । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियाको जङ्गलमा आगजानी भै करिब ८० फिट भन्दा माथिसम्म मुस्लो लागेपछि ८० हजार स्थानीयवासी घर छोडी सुरक्षित स्थानमा भाग्न थालेका छन्।
इन्टरस्टेट १५ को काजोन पासबाट सानो रुपमा स्थानीय समयअनुसार मङ्गलबार बिहान सुरु भएको जङ्गली आगो करिब २४ घण्टामा करिब ४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिए पछि वरपरका बस्तीमा समेत व्यापक क्षति भएको छ ।
आगलागीबाट कति घर जलेर ध्वस्त भए भन्ने तथ्याङ्क नआइसके पनि दर्जनौ घर खरानीमा परिणत भएका स्थानीयले बताएका छन् ।
सान बर्नार्डिनो ग्रामीण आगलागी नियन्त्रण विभागका प्रमुख एरिक सेर्बिनले ३४ हजारभन्दा बढी घरलाई खाली गर्न आग्रह गरिएको र यहाँ करिब ८२ हजार मानिस बसोबास गर्दै आएको अनुमान गरिएको बताउनुभयो ।
आगलागी नियन्त्रण प्रयास जारी रहे पनि शुक्रबारभन्दा पहिले डढेलोको अवस्था सहज हुने स्थिति नदेखिएको सेर्बिनले बताउनुभयो ।