ललितपुरमा नृसिँह जात्रा सम्पन्न

समाचार

1471963261jatra-final

काठमाडौं, भदौ ८ ।  ललितपुर जिल्लाको प्राचीन श्रृङ्गभेरी न्यकू जात्रा गणेश पूजा गर्दै मंगलबार सम्पन्न भएको छ  चक्रबहिलबाट सुरु भएको गणेश पूजा नासद्यका साथै ४३ गणेश स्थान पूजा गरी सहर परिक्रमा गरेर सम्पन्न भएको हो ।

नेपाल सम्वतअनुसार दशौं महिना गुंँलामा हुने श्रृङ्गभेरी जात्राअन्तर्गत् बग्गी, मतया पर्वहरु सम्पन्न भइसकेका छन् । श्रङ्गभेरी जात्रामा सिङबाट बनेको बाजासहित दुर्लभ नौबाजा बजाइ विभिन्न स्थानमा प्रदर्शन गर्ने गरिएको छ ।

अर्को वर्ष श्रृङभेरी जात्राको आयोजना इखाछेँ–नागबहालले गर्नेछ । गणेशपूजा आयोजनाको सूचना दिन परम्परागत तरिकाबाट बाजागाजा सहित नागगान र हास्यव्यंग्य गर्दै निमन्त्रणा गर्ने चलनसमेत रहेको छ ।

यता, उपाकलं साया नृसिँह जात्रा पनि सम्पन्न भएको छ । लाखे नाच, भजन टोली र बाजागाजासहित मुखौटा लगाएका नरसिंह, मधुकैटबको प्रतीक पुतला घिसार्दै शहर परिक्रमा गर्दै जात्रा मनाइएको छ ।

जात्रामा नृसिंह सामु प्रल्हाद प्रणाम गर्दै पछाडितिर हिँड्ने गरिन्छ । यस परम्परामा नरसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने गर्दछन् भने ६ जोडी कन्याको पनि यस यात्रामा सहभागिता रहेको छ । यो वर्ष ललितपुर स्वँठका अनन्तकान्त राजोपाध्यायले जात्रा आयोजना जिम्मा लिएका हुन् ।