प्रचण्डको सामुन्ने बालुवाटारमा निधि र रावलले बाझाबाझ गरे

समाचार

image

काठमाडौ, भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेको एक महिनापछि प्रमुख तीन दलको बैठक गरेका छन् । प्रधानमन्त्री दाहालले स्थानीय तहको पुनर्संरचनाको विषयमा देखिएको विवाद् सल्ट्याउनका लागि मंगलबार विहान बालुवाटारस्थित आफ्नै निवासमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको पुनर्संरचनाबारे सरकारको धारणा माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको पुनर्संरचना आयोगले प्रस्ताव गरेको संख्यालाई लिएर धेरैजसो दलहरुले असन्तुष्टि जनाएको भन्दै संख्या र सीमाका विषयमा सहमतिको आधार खोज्न आवश्यक भएको बताएपछि एमालेले सरकारको धारणा माग गरेको हो ।

एमाले नेताहरुले आयोगले काम पूरा गरिनसकेको अवस्थामा आफूहरु स्थानीय तहको संख्या यति नै हुनुपर्छ भनेर किटान गर्ने पक्षमा नरहेको भन्दै सरकारले धारणा ल्याए त्यसपछि प्रतिक्रिया दिने बताए ।

उनीहरुले सरकारसँग स्थानीय तहको निर्वाचन हुने ठोस आधार समेत माग गरेका छन् । बैठकमा एमालेले संविधान संशोधनका विषयमा पनि सरकारको धारणा माग गरेको छ । एमालेले सत्तारुढ काँग्रेस र माओवादीले के विषयमा संविधान संशोधन गर्न चाहेको हो त्यो विषय जानकारी गराइएपछि मात्र आफूले प्रतिक्रिया दिने बताएको छ ।

बैठकमा एमाले नेताहरुले संविधान संशोधनको विषयमा आफूहरुलाई जानकारी नै नगराइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेको भन्दै आपत्ति जनाएका थिए ।

तर उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री मोदीसँग संविधान संशोधनका विषयमा नभइ सरकारको प्राथमिकताका विषयमा मात्र छलफल गरेको बताएपछि एमाले नेताहरु शान्त भएका थिए ।

सो क्रममा निधि र रावलबीच केहिबेर बाझाबाझ समेत भएको बताइएको छ । बैठकमा नेपाली काँग्रेसका नेताहरुले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको पुनर्संरचना र प्रदेशको सीमांकनका विषयमा देखिएको विवाद् समाधान गर्न आवश्यक रहेको बताए ।