काठमान्डौ भदौ २१। आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नेपाली महिलाहरुले सप्तर्षीको पूजा गरेर मुलुकभर हर्षाेउल्लासका साथ मनाउँदैछन् ।
तीजको पर्सीपल्ट आज महिलाहरुले अरुन्धत्ती सहित कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् । रजश्वला भएका बेला जानेर वा नजानेर भएका गल्तीको दोष नास भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहिआएको पाइन्छ ।
आज सप्तऋषिको पूजा गर्नाले सौभाग्य प्राप्ति र सन्तान लाभका साथै दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ ।
महिलाहरु आज विहानै नदी, तलाउ वा कुण्डमा नुहाई ३ सय ६५ वटा दतिवन टोखेर बगाउने र गाइको गोबर माटो लगायतले स्नान गर्ने गर्दछन् ।
यस्तै काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्नेको विहानै देखि ठूलो भीड लागेको छ । कतिपय महिलाले भने घरमै ब्राह्मण पुरोहित बोलाई सप्तऋषिको पूजा गर्ने गर्दछन् । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन छ ।