द्धन्द्धकालिन मुद्दामा बेलायतमा पक्राउ परेका कुमार लामाको पक्षमा फैसला

समाचार

kumar-lama

काठमाडौं, भदौ २१। द्धन्द्धकालिन मुद्दामा बेलायतमा परेर झण्डै साढे तीन वर्षदेखि मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको पक्षमा फैसला आएको छ ।

मंगलबार अभियोजन पक्षले लामालाई दोषी ठहर्यालउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय लिएको छ ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट ओल्ड बेलीमा भएको लामो बहसपछि उक्त फैसला भएको हो । कोर्ट नम्बर ६ मा जस्टीस स्वीनी नेतृत्वको इजलासले उक्त फैसला गरेको समाचारहरुमा जनाइएको छ ।

एक मुद्दामा साउनमा उन्मुक्ती पाएका लामाले दोस्रो मुद्दाको अन्तिम फैसलामा पनिमा सफाई पाएका हुन् ।

दुई आरोपित मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले सुनाएपछि उनी नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको पर्खाइका बसेका थिए।

लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग लगाइएको थियो।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटिएका बेला छुट्टिमा परिवार भेटन बेलायत आउँदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो।
दुवै आरोपमा सफाई पाएपछि उनलाई नेपाल आउने बाटो पनि खुलेको छ।