भारतलाई त्रिपक्षीय सहकार्यमा सहमत गराउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

समाचार

काठमाण्डौ ,२२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा चीन–नेपाल–भारत त्रिपक्षीय सहकार्यमा भारतीय सरकारलाई सहमत गराउन विज्ञहरूले सुझाव दिएका छन् ।
चीनले अघि सारेको त्रिपक्षीय सहकार्यमा भारतले खासै चासो नदिइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले नेपालको हितका लागि त्यसैमा जोड दिनुपर्ने उनीहरूले सुझाव दिएका हुन् ।

सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा राजनीतिक समझदारी, आर्थिक विकास, सम्बन्धको सन्तुलन, पानीको चासोका साथै दुईपक्षीय समनिकटता र सन्तुलन कायम गर्नमा समेत ध्यान दिनुपर्ने विज्ञहरूले जनाएका छन् । उनीहरूले दुईपक्षीय सहयोगका साथै त्रिपक्षीय सहकार्यमा समेत जोड दिनुपर्ने बताएका छन् । साथै दुवै छिमेकीसितको सम्बन्धको सन्तुलन कायम राख्न सुझाव दिदै सीमा हुने डुबान समस्या, सीमा नियमनमा जोड दिन आग्रह गरेका थिए ।

छलफमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारत भ्रमणमा जानुअघि नै मधेसी, जनजातिले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आवश्यक संविधान संशोधनको विधेयक संसद्मा पेस गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

भारतबाट आएर संविधान संशोधन गर्न खोज्दा भारतकै सल्लाहमा गरेको सन्देश जाने हुनाले यसलाई आफ्नैतर्फबाट सम्बोधन हुनुपर्ने उहाको भनाई थियो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले राजनीतिक समझदारीसँगै सीमा नियमनको विषयलाई ध्यान दिन आवश्यक देखिएको बताउनु भयो ।

खुला बोर्डर र सीमापार अपराध नियन्त्रण ,सुस्ता र लिपुलेकबाहेकको सीमा समस्या समाधान तथा पानीको उपयोग र बिजुली उत्पादनमा पनि दुईपक्षीय र क्षेत्रीयस्तरको सहकार्यमा जोड दिनुपर्ने बताउनु भयो ।

आपूर्तिको सहजता, दुईपक्षीय व्यापारमा देखिने असहजता पनि चिर्न आवश्यक रहेको उहाको भनाईछ ।

एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि समझदारी बढाएर आफ्नो मुलुकको हितलाई हेरेर दुईपक्षीय सम्बन्धमा जोड दिनुपर्ने बताउनु भयो ।

परराष्ट्र मामिलाका जानकार फेडरक एर्वट स्टिफटुङका उपप्रमुख चन्द्रदेव भट्टले सत्ता परिवर्तन लगत्तै भारत जाने परिपार्टि रहेको अवस्थामा सरकार प्रमुखले मुलुकको समग्र विषयमा छलफल गरी एक्सनमा जाने स्थिति बनाएर भ्रमण गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणलाई कसरी राष्ट्र हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा पूर्वपरराष्ट्र मन्त्रीहरूसँग पनि आजै छलफल गर्नुभएको छ । उहाले हिजो ईपीजी  प्रबुद्ध व्यक्तिहरूको समूह सँग छलफल गर्नुभएको थियो ।