रसुवा, भदौ २६ ।
गएरातिदेखिको निरन्तर भारी वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात ठप्प भएको छ ।
जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरोका कारण यातायात बन्द भएको हो ।
बाटो खुलाउन भारी वर्षा भइरहेकाले सडकमा डोजर गुडाउन असहज भइरहेको छ ।
पहिरो गएका स्थानमा आवश्यक सुरक्षाका लागि आज बिहानैदेखि प्रहरी परिचालन गरिएको बताइएको छ ।
दुई दर्जनभन्दा बढी रसुवागढी नाकाबाट सामान लिई आएका ट्रक कन्टेनर बाटोको विभिन्न भागमा अलपत्र परेका छन् ।
बाटो खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।