काठमाडौं, असोज ५–भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध तीन वटा उजुरी परेका छन् । संसदीय सुनुर्वाइ विशेष समितिले उजुरीका लागि दश दिनको समय दिएकामा त्यो अवधिमा उपाध्यायविरुद्ध तीन वटा उजुरी परेका हुन् । तीन वटै उजुरी इमेलमार्फत प्राप्त भएको समितिले जनाएको छ ।
उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र उपाध्याय राजदूतका लागि योग्य नरहेको उल्लेख छ ।
भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नाकाबन्दी हटाउनका लागि राजदूतका रुपमा उपाध्यायले प्रभावकारी भूमिका नखेलेको बरु उल्टै सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप पनि उजुरीमा लगाइएको छ ।
समितिले उपाध्यायविरुद्ध परेका तीन वटै उजुरी बुधबार समितिका सदस्यहरुलाई वितरण गरेको छ । यस्तै, चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेलका विरुद्ध भने एउटै उजुरी परेको छैन । निजामति प्रशासनमा रहँदा विवाद्मा नआएका र राम्रो कामका कारण वाहवाही पाएका कारण पौडलविरुद्ध उजुरी नपरेको हो ।
समितिको बुधबारको बैठकले न्याय परिषद्को सदस्यमा प्रस्तावित रामप्रसाद सिटौलाका विरुद्धमा १० दिनको समयसहित उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।