काठमाडौं, असोज ६–प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गरेकोे छ । प्रेस काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबार नयाँ पत्रकार आचारसंहिता जारी गरेको हो । काउन्सिलले नेपाल पत्रकार महासंघसँग मिलेर जारी गरेको आचारसंहितामा पत्रकार र संचार माध्यमले गर्न हुने कर्तव्यमा १५ वटा तथा गर्न नहुने काममा १५ वटा बुँदा समेटिएका छन् ।
छापा माध्यमका अलावा रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर जारी गरिएको आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल पु¥याउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशन÷प्रसारण गर्न नपाइने उल्लेख छ ।
आचारसंहिता अनुसार सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा वाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न पाइने छैन भने व्यवसायिक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन पनि पाइने छैन । आचारसंहिताले १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्र्तवार्ता र तस्वीर प्रकाशन÷ प्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । अनलाइन संचार माध्यमहरुले एकपटक पोष्ट गरेका समाचार हटाउन नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ ।
आचारसंहिताको उल्लंघन गरेको अवस्थामा प्रेस काउन्सिलले पत्रकारको प्रेस पास निलम्बन गर्न निर्देशन दिने, सरकारी भ्रमणमा सहभागी नगराउन र संचार माध्यमलाई सरकारी वा सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने सुविधा वा विज्ञापन रोक्न सिफारिस गर्ने तथा वर्गिकरणको प्रक्रियाबाट अलग गर्ने आचारसंहितामा उल्लेख छ ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार र संचारमाध्यममा स्वेच्छाचारिता मौलाउँदै गएको र त्यसको परिणाम संचारमाध्यमप्रतिको जनविश्वास पनि कम हुँदै गएका कारण गलत क्रियाकलापलाई निरुत्साहित गर्ने लक्ष्यसहित आचारसंहिता जारी गरिएको बताए । प्रेस काउन्सिलले यसअघि २०६० सालमा २५ बुँदे आचारसंहिता जारी गरेको थियो । प्रेस काउन्सिल ऐन २०४८ को दफा ७ ले काउन्सिललाई पत्रकार आचारसंहिता जारी गर्ने अधिकार दिएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्यायमा आधारित समाजको स्थापनामा चौंथो अंगले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रेस काउन्सिलले पत्रकारिता पेशालाई जिम्मेवार र उत्तरदायी बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । सूचना तथा संचारमन्त्री राम कार्कीले पत्रकारहरुले कलम बलियो बनाउन आवश्यक रहेको बताए ।