अमेरिको दक्षिणी सीमामा हजारौँ आप्रवासी अलपत्र

अमेरिको दक्षिणी सीमामा हजारौँ आप्रवासी अलपत्र
समाचार

जबर्जस्ती अमेरिका प्रवेश गर्न खोज्ने मध्यअमेरिकी देशका हजारौँ आप्रवासी अमेरिकाको दक्षिणी सीमामा अलपत्र परेका छन् । मध्यअमेरिकी देशबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न लागेका आप्रवासी सीमामा अलपत्र परेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा कडाइ गरेको घोषणा गरिरहेका वेला ती आप्रवासी मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहरमा भेला भएका छन् ।

विभिन्न समूहमा भेला भएका उनीहरूमध्ये केही आप्रवासी अमेरिका प्रवेश गरिसकेका छन् भने अधिकांश अलपत्र परेका छन् । अमेरिका प्रवेश गर्ने दाउमा उनीहरू रातभर जाग्राम बसेका छन् । आप्रवासी सीमा पार गरेर अमेरिका जाने पहल गरिरहेकै वेला अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस सो क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् ।

 हामी अपराधी होइनौँ
‘हामी अपराधी होइनौँ,’ अमेरिकी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएका केही आप्रवासीले भने । उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आक्रोश व्यक्त गरिरहेका थिए । राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा पुग्न लाग्दा सीमामा करिब ६ हजार थप सैनिक परिचालन गर्न आदेश दिएका छन् ।

 विभिन्न समूहमा आप्रवासी
दक्षिणी सीमामा भेला भएका आप्रवासी विभिन्न चार समूहमा जम्मा भएका छन् । मुख्य समूहमा करिब चार हजार र अन्य समूहमा दुई हजारसम्म आप्रवासी छन् । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छोड्न बाध्य भएको उनीहरूको भनाइ छ । उनीहरूको पहिलो रोजाइ अमेरिका बनेको छ । आप्रवासीहरू मेक्सिकोका विभिन्न स्थानबाट सीमावर्ती तिजुआनातर्फ प्रस्थान गरेका छन् ।

 शरणार्थीको मान्यता नदिइने
गत साता राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै कानुनी विधि पालना नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने बताएका थिए । गैरकानुनी रूपमा जबर्जस्ती अमेरिका प्रवेश गर्नेलाई बल प्रयोग गरेर स्वदेश फर्काउने ट्रम्पले बताएका थिए । तर, रिपब्लिकन पार्टीकै कतिपय सदस्यले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् । रक्षामन्त्री म्याटिसले अमेरिकी सीमा सुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेको बताएका छन् ।

 गरिबीका कारण  अमेरिका प्रवेश
अमेरिकी भूमिमा प्रवेश गरिसकेका नौजनालाई सीमा सुरक्षा बलले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये चार बालबालिका र दुई महिला छन् । उनीहरू होन्डुरसका नागरिक हुन् । ‘उनी अमेरिका प्रवेश गरिन् । म सीमामा अलपत्र परेको छु,’ होन्डुरसका १७ वर्षीय मोजेज हर्नान्डेजले बताए, ‘मैले बुझेको छु, उनी नयाँ जीवनको खोजीमा छिन् । हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौँ ।’

Post Comment