संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको छलफल जारी

राजनीति

काठमाडौँ, ४ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल जारी रह्यो ।

छलफलमा भाग लिँदै नेकपा (एमाले)का विष्णु पौडेलले संविधानका विवादित विषयमा सहमतिमा पनि पुग्न सक्दैनौँ, प्रक्रियामा पनि जान जाँहदैनौँ , हामीले संविधानसभालाई के बनाउन खोज्यौँ ? भन्ने प्रश्न गर्दै सहमतिमा पुग्न नसकिएमा संविधानसभामा नै प्रक्रियामा जानुपर्छ भन्नुभयो ।उहाँले बहुमतले अल्पमतको भावना कदर गर्न र अल्पमतले पनि बहुमतको भावनालाई सम्मान गर्दै अगाडि बढ्न सकिएमा माघ ८ मा संविधान जारी गर्न सहज हुने धारणा राख्नु भयो ।

नेपाली काँग्रेसका कमला पन्तले दलहरूबीचमा माघ ८ मा संविधान जारी गर्न सहमति भइसकेको हुँदा अब कुनै पनि बहाना र निहुँमा संविधान लेखन प्रक्रिया अवरुद्ध गर्न हुँदैन भन्नुभयो ।एनेकपा (माओवादी)का प्रभु साहले संविधान लेखनमा सहमतिको अर्काे विकल्प नभएको हुँदा बहुमतीय प्रणालीद्वारा संविधान लेखन अगाडि बढाइएमा यो आफ्नो पार्टीका लागि मान्य नहुने बताउनुभयो ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विक्रम थापाले दलगत स्वार्थभन्दा जनताको भावनालाई कदर गर्न आवश्यक भएको चर्चा गर्दै राज्यकोे पुनः संरचना, शासकीय स्वरुपजस्ता विषयमा थप व्यापक छलफल हुन आवश्यक छ भन्नुभयो ।मधेसी जनअधिकार फोरम (नेपाल)का सांसद लालबहादुर राउतले बहुमतीय प्रणालीभन्दा सहमतीय प्रणाली संविधान लेखनका क्रममा आवश्यक रहेको चर्चा गर्दै सबै जनताको भावनालाई कदर गर्न र संविधानलाई सहमतिको दस्तावेज बनाउन आग्रह गर्नुभयो ।नेकपा (एमाले)का भानुभक्त ढकालले संवाद समितिमा सहमति हुन नसकेका संविधानसभामा प्रक्रियामा गई विवादित विषयलाई टुङ्ग्याउनुपर्छ भन्नुभयो । रासस

Post Comment