एमाओवादीका जिल्ला नेताहरू चन्द नेतृत्वको पार्टीमा प्रवेश

राजनीति

 एकीकृत नेकपा (माओवादी) दोलखाका एक दर्जन जिल्ला नेताहरू नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

सोमबार एमाओवादीका आठ जिल्ला कमिटी सदस्य र चार विद्यार्थी नेताले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी एकीकृत नेकपा (माओवादी)को जिल्ला कमिटीसँग सम्बन्धविच्छेद गरी चन्द नेतृत्वको नेकपा (माओवादी)मा प्रवेश गरेको घोषणा गरेका हुन् ।

एमाओवादी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य एवम् ६ नं इलाका इन्चार्ज प्रेम लामा, जिल्ला सचिवालय सदस्य एवम् माओवादी लडाकुका पूर्व कमान्डर प्रखर लामा, एमाओवादी सचिवालय सदस्य तथा दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष राजन धनुके, सचिवालय सदस्य एवम् ५ नं इलाका इन्चार्ज अर्जुन योगी छन् ।

यस्तै जिल्ला कमिटी सदस्यहरू छिरिङ लामा, गोपाल खरेल, नवराज अर्याल, जगतराज गणिका, जिल्ला कमिटी सदस्य एवम् वाइसिएल राज्य समिति सदस्य डिबी लामा, जिल्ला कमिटी सदस्य अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रामकुमार खड्का, जिल्ला कमिटी सदस्य आशिष जोशी र सुन्दर केसी छन् ।

उनीहरूले एमाओवादीले १० वर्षे जनयुद्ध, सहिद परिवार र आम कार्यकर्ताको भावना बिर्सेको र वैद्य नेतृत्वको नेकपा–माओवादी क्रान्तिबाट अल्मलिएका कारण आफूहरू चन्द नेतृत्वको नेकपा– माओवादीमा प्रवेश गरेको बताएका छन् । रासस

Post Comment