काठमाडौँ, १३ पुस । नेकपा (एमाले) ले सहमतिका नाममा समय खेर नफाली पुनः माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ ।
एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा आज बसेको स्थायी कमिटी बैठकमा सबैलाई मिलाएर लैजाने सहमतिको प्रयास गर्ने तर सहमतिका नाममा समय बर्बाद नगरी निर्धारित मितिमै संविधान जारी गर्नुपर्नेमा जोड दिइएको हो ।पार्टीको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले संविधानका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलमा एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चाले बैठकमा प्रस्ताव पनि नराख्ने तर एकोहोरो विवाद गर्ने काम मात्र गरिरहेको जानकारी गराउनुभयो ।
कार्यदलका सदस्यसमेत रहनुभएका रावलले मधेसी मोर्चाले लम्बाई राख्ने र सत्ताको सौदाबाजी गर्ने काम मात्र गरिरहेको जानकारी गराउँदै नेपाली काँग्रेस र एमालेको प्रस्तावमा उनीहरूले सहमति गर्न नचाहेको प्रष्ट देखिएको बताउनुभयो ।
बैठकमा सहमति नभए प्रक्रियाबाटै भए पनि समयमै संविधान जारी गर्न सभामुखलाई पनि आग्रह गर्नुपर्ने र दैनिकीजस्तै सहमतिका लागि बैठक बस्ने, सहमति नगर्ने गरेर समय खेर जान दिन नहुने स्थायी कमिटी सदस्यबाट सुझाव आएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
पार्टीको यही पुस १ गते सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले पनि सहमति नभए समय खेर नफाली प्रक्रियामा गएर भए पनि संविधान निर्धारित मितिमै जारी गर्नुपर्नेमा जोड दिएको थियो । रासस