काठमाडौँ , १४ पुस । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकलाई सङ्घीयतामा लैजाँदा हिमाल र तराई समेट्ने छ प्रदेशको अवधारणा सार्वजनिक गरेको छ ।
सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा कोसीपूर्व बराहक्षेत्र, कमलापूर्व हलेसी, कमलानदी पश्चिम जानकी, नारायणी नदीपारि लुम्बिनी, कर्णालीपारि खप्तड र काठमाडौँ उपत्यकालाई बाग्मती प्रदेशको नामकरण गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ । नेपाल हिन्दू राज्य रहने वा नरहने भन्ने विषय जनमतका आधारमा छिनोफानो गरिनुपर्नेमा जोड दिँदै सो पार्टीले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्बन्धी शासकीयस्वरुप र मिश्रित निर्वाचन प्रणालीको पक्षमा चुरेभावर रहेको जनाएको छ ।
सहमतिबिना संविधान जारी गर्ने प्रयत्न भएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको प्रमुख चार राजनीतिक शक्तिले जिम्मेवारी लिनुपर्ने सो पार्टीको मत छ । मुलुकको विकास र समवृद्धि लागि सङ्घीयतासहित संविधानसभाबाट नयाँ संविधान जारी गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको जनाउँदै सो पार्टीले राज्यको पुनःसंरचना गर्दा जातीय सद्भावलाई अक्षुण्ण राख्ने ढङ्गबाट गर्नु नै बुद्धिमानी हुने सुझाव दिएको छ । रासस