काठमाडौँ, १८ पुस । नेपाली काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानमा समावेश हुने विवादित विषयमा सहमति गर्न अन्य दलहरुसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आगामी माघ ८ मा संविधान जारी गर्ने दलहरुकै साझा प्रतिबद्धता भएकाले सो मितिमा संविधान जारी गर्न दलहरु थप गम्भीर र जिम्मेवार बन्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।
पार्टीका सहमहामन्त्री पूर्णबहादुर खड्काले विवादित विषयमा दलबीचमा सहमति कायम गर्न काँग्रेसले नेकपा (एमाले), प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी), मधेसवादी दलसँग छुट्टाछुट्टै एवम् सामूहिक छलफल गर्न लागेको जानकारी दिनुभयो ।
नयाँ संविधानका मुख्य विषयवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीका विषयमा दलहरुका बीचमा सहमति हुन सकेको छैन । अर्का तर्फ दलहरुका बीचमा संवैधानिक समितिले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेदनलाई अन्तिम निष्कर्षका रुपमा त्यही टुङ्ग्याउने की पुनः समितिमा फिर्ता पठाउने भन्ने विषयमा पनि विवाद बढ्दै गएको छ ।
बैठकमा सभापति कोइरालाले नेपाली जनताको चाहना अनुरुप आगामी माघ ८ मा नयाँ संविधान जारी गर्नुको अर्का विकल्प नरहेको भन्दै यसका लागि आफ्नो पार्टीले अधिकतम् लचकता अपनाउने बताउनुभएको थियो ।
विवादित विषयमा दलहरुसँग सहमति कायम गर्नका लागि भइरहेका प्रयासका बारेमा उहाँले बैठकमा जानकारी गराउनुभएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
आज नै काँग्रेस र नेकपा (एमाले) र नेका, एमाले, एनेकपा (माओवादी) दलका बीचमा छुट्टाछुट्टै बैठक पनि बस्दैछ ।
बैठकमा सभापति कोइराला, उपसभापति पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतका पार्टीका नेताहरुको सहभागिता रहेको थियो । रासस