काठमाडौँ, ३० पुस । सत्तारूढ प्रमुख दल नेपाली काँग्रेसले संविधान निर्माणको प्रक्रियासँगै दलहरुसँगको छलफल र संवादलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले छलफल र सहमतिका नाममा समय खेर गइरहेको तर निकास निस्कने छाँट नदेखिएको भन्दै अन्तरिम संविधान र संविधानसभा नियमावलीअनुरुप प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।
काँग्रेसले प्रक्रियामार्फत लोकतान्त्रिक संविधान निर्माणको प्रक्रियालाई अघि बढाए पनि संविधानसभाका राजनीतिक दलहरुसँग छलफल र संवादको सबै प्रक्रिया अवरुद्ध नगरी सहमतिको प्रयत्नलाई पनि जारी राख्ने निर्णय गरेको छ ।
बैठकपछि वन तथा भू–संरक्षणमन्त्रीसमेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले संविधानसभाको प्रक्रियालाई अवरुद्ध गरेर सहमतिको नाममा अनन्तकालसम्म कुनै निर्णय हुन नसकेको भन्दै प्रक्रियामार्फत संविधान निर्माण कार्यलाई अघि बढाउन सबैको मत आएको उल्लेख गर्नुभयो ।
“सहमतिको प्रयोजनको निम्ति गठित भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिले आफ्नो दायित्व निर्वाह गर्न नसकेको दुःखद् अवस्थामा अब यो जिम्मेवारी संविधानसभाले लिनुपर्ने अवस्था आएको छ । प्रक्रियालाई अघि बढाउने र दलीय छलफल र परामर्शलाई प्रधानमन्त्रीको अग्रसरतामा निरन्तरता दिनुपर्दछ । तर दलहरुसँगको छलफलले निकास ननिस्केसम्म प्रक्रियालाई अवरुद्ध गर्न हुँदैन भन्ने संसदीय दलको एकमतका साथ आवाज उठेको छ”–उहाँले भन्नुभयो
बैठकले संविधान निर्माण गर्ने उद्देश्यले हालसम्म भएका संविधानका अन्तरवस्तुहरुका बारेमा संवैधानिक राजनीतिक संवाद सहमतिमार्फत प्रस्तुत प्रस्तावहरुमा संविधानसभाको अब बस्ने बैठकले निर्णय गरी मस्यौदा समितिमा पठाउन सुझाव दिएको छ ।
संविधान निर्माणको कार्यमा सक्रियतापूर्वक संलग्न रहन छोडेर बन्दका विभिन्न कार्यक्रमहरुमा सरिक रहेका प्रमुख प्रतिपक्षी दल एमाओवादीलगायतका दलहरुलाई आन्दोलनका कार्यक्रमहरु बन्द गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा केन्द्रित रहन बैठकले आह्वान गरेको छ । रासस