चितवन, १८ चैत । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात विजयकुमार गच्छदारले पार्टीका कार्यकर्तालाई महाधिवेशनमा जुट्न निर्देशन दिनुभएको छ ।
चितवनको सौराहामा आज पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले गाउँदेखि जिल्लासम्ममा सङ्गठनलाई बलियो बनाउँदै महाधिवेशनमा होमिनु पर्ने बताउनुभयो ।
पार्टीका लागि महाधिवेशन पर्व जस्तै रहेको भन्दै यसलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो । पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाख २०, २१ र २२ गते विराटनगरमा गर्ने तय गरेको छ ।
यस्तै मन्त्री गच्छदारले चितवनको विकास निर्माणमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले चितवन धेरै सम्भावना भएको जिल्ला र विगतमा यहाँको विकास निर्माणमा आफू पनि संलग्न भएको बताउनुभयो । कार्यक्रममा बोल्दै फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरीले चितवनको विकासका लागि पार्टी प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो