भुटानी शरणार्थी समस्या प्राथमिकतामा राख्न माग

राजनीति

दमक, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भुटानी शरणार्थी समस्यालाई उच्च प्राथमिकतामा राखिदिन भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले अनुरोध गरेको छ ।

समितिका अध्यक्ष डाक्टर भम्पा राईले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाउँदै त्यस्तो अनुरोध गर्नुभएको हो । ज्ञापनपत्रमा आफ्नो जन्मघर फिर्ने अवसरको अभावमा बाध्यताबस शरणार्थीको एउटा ठूलो समूहले पुनर्वासको विकल्प रोजेको स्मरण गराउँदै घर फिर्तीको आशामा बसेका भुटानीको मागलाई प्राथमिकतामा राखिदिन नेपाल सरकारसमक्ष माग राखेको उल्लेख छ ।

ज्ञापनपत्रमा नेपाल सरकारले भुटान र भारत सरकारसँग शरणार्थी समस्याबारे गम्भीर ढङ्गले छलफल अघि बढाउन सुझाइएको छ । त्यस्तो छलफलका माध्यमबाट अझै घर फिर्तीको आशामा रहेका भुटानी शरणार्थीको हित र अधिकारको रक्षा हुने समितिको ज्ञापनपत्रमा जनाइएको छ ।

पूर्वी नेपालका शिविरमा हाल १६ हजार भुटानी शरणार्थी रहेका छन् । बितेको आठ वर्षमा यहाँबाट एक लाख एक हजार ६०० भुटानी अमेरिका, क्यानाडा, अस्टे«लिया, डेनमार्क, नेदरल्यान्ड, नर्वे, न्युजिल्यान्ड र बेलायत पुनर्वास भइसकेका छन् । शिविरमा अझै करिब १० हजार भुटानी पुनर्वासको प्रक्रियामा रहेका छन् ।