काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले नेपाली काँग्रेस बलियो प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ लमजुङ–त्रिचन्द्र सम्पर्क समितिले आज त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेता घर्तीले फरक फरक विचार बोकेका राजनीतिक दललाई एकठाउँमा बनाएर संविधान बनेको छ यसलाई अब नेपाली काँग्रेसको पहलमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिका सभापतिसमेत रहनुभएका नेता घर्तीले संविधान कार्यान्वयन गरेर विभिन्न निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद्का सदस्य चन्द्रबहादुर कुँवरले कालोबजारी रोक्न नसक्नु र भूकम्प प्रभावितलाई राहत दिलाउन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो ।
कार्यक्रममा लमजुङका काँग्रेसका नेताहरु तुल्सीनारायण श्रेष्ठ, विष्णुप्रसाद धिताल, रमेश पाण्डे, शैलेन्द्र घिमिरे, लक्ष्मीकान्त पौडेललगायतले लमजुङमा जन्मेर काठमाडौँमा आई सम्पर्क समिति खोलेको भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेविसङ्घ लमजुङ–त्रिचन्द्र सम्पर्क समितिमा सुमन बसौलाको अध्यक्षतामा १६ जनाको नयाँ कार्यसमिति गठन गरिएको छ ।