काठमाडौँ, १८ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आव २०७३÷०७४ को बजेट संसद् समक्ष प्रस्तुत हुनु अगावै समाचारपत्र मार्फत आएको भनी मङ्गलबार पटक पटक बैठक अवरुद्ध गरेपछि संसद् खुलाउने बारे सत्तारुढ दलको बैठक बसेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सरकारमा रहेका सबै दलको बैठक बालुवाटारमा बसेको हो । बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कानुन, न्याय तथा संसदीयमामिलामन्त्री अग्निप्रसाद खरेलले प्रमुख प्रतिपक्षी दलले मङ्गलबार पटक पटक संसद् अवरुद्ध भएपछि संसद् खुलाउने बारेमा छलफल गर्न बैठक बसेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “नीति तथा कार्यक्रममा आधारित भएर बजेट आएकामा प्रमुख प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेको छ, यसो हुनु हुँदैन भन्ने हो, प्रमुख प्रतिपक्षी दलले उठाएको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
“बजेट चुहावट केलाई मान्ने, केलाई बाहिर गएको मान्ने भन्ने प्रश्न त्यसभित्र छन्, विगत वर्षहरुमा पनि बजेट आएको छ, बजेटका मूलभूत कुरा बाहिर आउनु स्वाभाविक हो” – खरेलले भन्नुभयो ।
उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बजेट प्रस्तुत हुनुअगावै सूचना चुहावट भएको कुरालाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको अवरोधलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो – “आजै संसद् हुनु अगावै प्रमुख प्रतिपक्षी दलहरुसँग बसेर समस्याको समाधान खोज्नेतर्फ लाग्छौँ ।”