काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनभन्दा सत्ता जोगाउन सत्तासाझेदार दलहरु लागेको बताउनुभएको छ ।
सभामुख ओनसरी घर्तीसित समय लिई उहाँले स्थानीय निकायको निर्वाचन नयाँ संविधानको संरचनाअनुसार हुनुपर्छ भन्दै निर्वाचनसित आफ्नो पार्टी नडराउने स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता पौडेलले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि दिइने भनेको रु दुई लाख तत्काल वितरण गर्न सरकारको ध्यानाकर्षण गराउँदै भूकम्पपीडित जनता अहिले पनि खुल्ला आकासमुनि बस्न बाध्य भइराखेको धारणा राख्नुभयो ।
अफगानिस्तानमा आतङ्ककारी समूहको आततायी घटनामा परी मृत्यु भएका १२ नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
सांसद् सुशीला नेपालले कपिलवस्तुमा जेठ ३० गते अपाङ्ग महिलामथि भएको अमानवीय व्यवहारप्रति छानबिन गर्न माग गर्दै दोषीलाई कारबाहीको माग गर्नुभयो ।
सांसद कमला दोङले सत्य निरुपण आयोग, बेपत्ता परिवार छानबिन आयोगले के काम गरिरहेको छ ? यसका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद भक्तबहादुर विश्वकर्माले अफगानिस्तानमा आतङ्ककारी समूहको आततायी घटनामा परी मृत्यु भएकाहरुको शव उनीहरुकै घरमा पु¥याउने व्यवस्था गर्न, उनीहरुले पाउने सुविधा छिटो प्राप्तिका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद हरिशचरण साहले संविधान कार्यान्वयनमा प्रमुख दलहरुका नेताहरु नै गम्भीर बन्न नसकेको बताउनुभयो ।
सांसद इन्द्रबहादुर बानियाँले असार सुरु भएपछि वर्षात्सितै विकासका नाममा पैसा सिध्याउने काम अन्त्य हुनुपर्ने माग गर्दै मकवानपुरका भूकम्पपीडितले राहत नपाएको गुनासो गर्नुभयो ।
सांसद चण्डीप्रसाद राईले मङ्गलबार परेको अबिरल वर्षात्ले देशका विभिन्न स्थान डुबान परेकामा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तप्तबहादुर विष्टले गतवर्ष सुदूर र मध्यपश्चिमाञ्जलाका विभिन्न जिल्लामा गएको बाढी पहिरोपीडितलाई पनि भूकम्पपीडित सरह राहत दिन माग गर्नुभयो ।
सांसद दुर्गा पौडेलले राष्ट्रिय जनमोर्चाले संविधानप्रदत्त अधिकार उपयोग गरी आन्दोलनमा गएको बताउनुभयो ।