रोजगारीका अवसर वृद्धि गर्न सकिन्छ : सभापति देउवा

राजनीति

काठमाडौँ, २२ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा वैदेशिक लगानी भित्र्याएर रोजगारीका अवसर वृद्धि गर्न सकिने बताएका छन् ।sher bahadur deuba

गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा मंगलबार यहाँ आयोजित ‘वैदेशिक रोजगार र गरिबी निवारणसम्बन्धी’ कार्यक्रममा उनले सरकारले देशमा शान्ति, स्थिरता र लगानीको सुरक्षा कायम गर्न सके विदेशी लगानीकर्ता नेपालमा लगानीका लागि आकर्षित रहेको बताए ।

सभापति देउवाले विप्रेषणले मुलुकमा आर्थिक गतिविधि भइरहेको बताउँदै जलस्रोतको धनी राष्ट्र भएर पनि जनता विद्युत्भार कटौतीको समस्यामा रहिरहेकामा चिन्ता व्यक्त गरे ।

काँग्रेस नेता डा रामशरण महतले झन्डै ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेकाले अहिले गाउँगाउँमा मजदुरको अभाव बढेको उल्लेख गर्दै नेपालमा नै रहेका मजदुरको पनि आम्दानी बढेको बताए । उनले कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत योगदान विप्रेषणको रहेको र तुलनात्मक रुपमा गरिबी घटेको बताए ।

नेता महेश आचार्यले वैदेशिक रोजगारमा जाने ७५ प्रतिशत जनशक्तिलाई व्यावसायिक र सीपमूलक तालिम दिन सकेमा तीनदेखि पाँच वर्षमा विप्रेषणको क्षेत्रमा गुणात्मक परिवर्तन हुने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेल, नेता आनन्दप्रसाद ढुङ्गाना, बुद्धिजीवी डा हरि शर्माले गिरिजाप्रसाद कोइराला मजदुरमैत्री नेता भएको स्मरण गर्दै वैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारको हितलाई दृष्टिगत गरी काँग्रेसले नयाँ नीति बनाउनुपर्नेमा जोड दिए ।