नयाँ शक्ति मरेको माछा होइन‍‍‍‍‍‍‍‍ -बाबुरामले भने‍‍‍‍‍‍‍‍

राजनीति

download (1)

काठमाडाै‌ँ  २ साउन – नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखका लागि केन्द्रदेखि नै अभियान चलाउने बताएका छन । पार्टीको ६ नं. प्रदेशको बैठक तथा राष्ट्रिय भेलाको सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रममा संयोजक भट्टराईले भने , ‘हामी प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदका लागि केन्द्रदेखि नै अभियान चलाउँछौं ।’ उनले पुराना शक्तिहरु सरकार बनाउने र गिराउने पुरानै खेलमा लागिरहेको भन्दै यसले मुलुक र जनताको जीवनस्तरमा कुनै तात्विक परिवर्तन ल्याउन नसक्ने बताए । ‘ओली नेतृत्वको सरकार ढल्यो, अब प्रचण्डको नेतृत्वमा सरकार बन्ला,’ उनले भने , ‘यसपछि शेरबहादुर आउलान्, त्यसपछि अर्का बहादुर आउलान् तर जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन सक्दैन ।

संयोजक भट्टराईले नयाँ शक्तिलाई जिउँदो माछासँग तुलना गरे । ‘मरेको माछा पानीको बहावतिर मात्र बग्छ,’ उनले , ‘तर जिउँदो माछा आफ्नो इच्छा र आवश्यकता अनुसार पानीको बहावविरुद्ध पनि पौडन सक्छ ।’ नयाँ शक्तिप्रति विभिन्न कोणबाट हुने गरेका झूटा आरोपप्रति लक्षित गर्दै भट्टराईले भने , ‘बाटो हिंड्दा किनारामा कुकुरहरु भुक्छन्, हामीले ढुंगा हानेर समय बर्बाद नगरौं ।’ उहाँले नयाँ शक्तिले नयाँ विचारको विकास गर्न लागेकोले नयाँ कुरा सुरुमा सबैलाई अप्रिय र अनौठो लाग्न सक्ने धारणा राखे । ‘हामीलाई विचारविहिन भन्ने गरिएको छ,’ उनले  भने , ‘हामीसँग दर्शन छ, त्यो भनेको सबै उन्नत ज्ञान, विज्ञान र दर्शनबाट पाठ सिकेर त्यो भन्दा उन्नत बनाउने लक्ष्यमा अगाडि बढ्नु हो ।’ उनले  नयाँ शक्ति कुनै एक दर्शन र वादको सिमित घेरामा नअल्झने र यसलाई महाधिवेशनसम्म बहसमा लगेर एउटा निष्कर्षमा पुग्ने बताए ।

नयाँ शक्तिले प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्दै हरेक नेतृत्व पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, गल्ती गर्नेलाई प्रत्याह्वानको व्यवस्थालगायतका केही नयाँ अभ्यास सुरु गर्ने बताए । ‘अहिलेको केन्द्रीय नेतृत्वमा पर्यो, को परेन भनेर चिन्ता नलिनुहोस्,’ उनले भने , ‘निर्वाचनमा गएपछि अहिले टिका लगाएका मानिस भोलि नआउन पनि सक्छन् ।’ उनले जनता र कार्यकर्ताको मन जित्न मेहनतका साथ पार्टी काममा खटिन निर्देशन दिए । कार्यक्रममा सहसंयोजकहरु रामचन्द्र झाले मधेस र राज्य पुनर्संरचना, दुर्गा सोबले महिला र सामाजिक संघसंस्थाबारे प्रशिक्षण दिए  भने संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र विधान र संगठनबारे र परशुराम तामाङले राष्ट्रिय संयन्त्रबारे प्रशिक्षण दिए ।