मधेसी दल के गर्छन् ?

राजनीति

download

काठमाडौं- सद्भावना अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा सहभागि नबन्ने बताएका छन्। महतोले मधेसका मागलाई बिच बाटोमा छोडेर सरकारमा जान नसुहाउने बताए। ‘मधेसमा यति ठूलो आन्दोलन भयो त्यो सरकारका लागि थिएन’, महतोले भने ‘मधेसी, थारु र जनजाति लगायतका सिमान्तकृतको अधिकारको लागि थियो।

उनले मधेसी, थारु र जनजाति लगायतका माग अब बन्ने सरकारले पुरा गर्ने प्रतिवद्धता जाहेर गरेकाले आफुहरुले पर्खेर बसेको बताए। ‘उहाँहरुले माग सम्वोधन गर्छु भन्नु भएको छ। यसैले हामी त्यो समय कुरी रहेका छौं’ महतोले भने। संविधान संसोधन गरेर मधेसका माग पुरा गर्नु पर्ने महतोको भनाई छ। संघीय गठवन्धन के गर्ला भन्ने अखबार दैनिकको प्रश्नमा उनले भने, ‘उहाँहरुको बारे हामीलाई थाहा छैन तर मधेसी मोर्चा मधेसलाई एक्लै छोडेर सरकारमा जाँदैन।’ ११ बुँदे मागमा लिखित सहमति जनाएपछि मात्रै सरकारमा सहभागि हुने तर्फ उनले संकेत गरे। ‘११ बँदे मागलाई उहाँहरुले सम्वोधन गर्न सकेमा हामीले सोच्न सक्छौं’ महतो ले भने, ‘यही अवस्थमा माओवादी-कांग्रेस गठवन्धन सरकारमा सहभागि हुने कुनै सम्भावना छैन।’

मधेसी मोर्चा सहित संघीय गठवन्धनमा ४१ सांसद छन्। केपी ओली सरकार ढल्ने निश्चित भएपछि गठवन्धनले खुल्लामञ्चमा गर्दै आएको रिले अनसन अन्त्य गरेको थियो। मोर्चा र गठवन्धनले ११ बुँदे मागको सम्वोधन, मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा र परिवारलाई राहत, घाइतेको उपचार र संविधान संशोधन उनीहरुले नयाँ सरकारसँग अपेक्षा गरेका छन्। यता विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारमा जान खोजेको विषयले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई टाउको दुखाइको विषय बनेको छ। यादवले गच्छेदारलाई रोक्न हरदम प्रयास गरिरहेका छन्।  फोरम (लोकतान्त्रिक)ले जितेन्द्र देवको नेतृत्वमा सरकारमा प्रतिनिधित्व गराउने तयारी गरिरहेको छ भने त्यसलाई रोक्ने प्रयासमा छन् उपेन्द्र यादवले। यादवले बिहीबारको बैठकमा समेत यस विषयमा चर्चागरेको स्रोतले बताएको छ। यता सना दलहरु पनि सरकारमा जान खुट्टा उचालेर बसेका छन्। परिवारदल, समाजवादी जनता दल र थरुहट लगायतका पार्टीले सरकारमा जाने इच्छा देखाएका छन्।