प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय समझदारी अपरिहार्य छ ।

राजनीति

prachanda

काठमाडौँ, साउन २५।  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताए ।
आफूलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिए ।

मुलुकका ठूला राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका सकारात्मक र प्रगतिशील रहेको स्मरण गर्दै प्रधानमन्त्रीले भने “राष्ट्रिय समझदारी निर्माणमा पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

प्रधानमन्त्रीले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, “अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ ।

यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।” शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन अहिलेका मूलभूत विषय भएको प्रधानमन्त्रीले बताए ।

आफू सदैव श्रमजीवी पत्रकारका पक्षमा रहेको स्पष्ट पार्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आजै बिहान सञ्चार क्षेत्रका लगानीकर्ताको समूहले सरकारले हालै वृद्धि गरेको पत्रकारको न्यूनतम पारिश्रमिकले निकै अप्ठ्यारो परेको कुरा मार्मिक रुपमा राखेको बताए ।

लगानीकर्ताले भूकम्प र नाकाबन्दीका कारण सञ्चार क्षेत्रमा ठूलो असर परेकाले वृद्धि भएको पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनःविचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

भेटमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा भएका ठूला परिवर्तनका कार्यभारलाई संस्थागत गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै हालै जारी भएको सञ्चार नीति कार्यान्वयनका लागि आवश्यक कानुनको परिमार्जन गर्न सरकारका तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो ।