काठमाडौँ, भदौ ४ गते । नेकपा (माओवादी केन्द्र) ले राजधानीमा बोलाएको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक स्थगित गरेको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले भदौ ११ गतेदेखि गर्ने भनिएको बैठक प्रादेशिक स्तरमा गर्ने निर्णय गरेको हो ।
बैठकले माघ २३ गतेदेखि गर्ने भनिएको केन्द्रीय महाधिवेशन पनि स्थगित गर्ने निर्णय गरेको छ । प्रवक्ता पम्फा भुषालका अनुसार अब केही दिनभित्रै प्रादेशिक स्तरमा महाधिवेशन आयोजक समिति सदस्यको बैठक गरिनेछ ।
‘पार्टी नेतृत्व सरकारको नतिजामुखी कामका लागि व्यस्त हुनुपर्ने भएकाले अध्यक्ष प्रधानमन्त्री रहँदासम्म महाधिवेशन नगर्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता भुषालले भन्नुभयो, ‘काठमाडौँमा गर्ने भनिएको आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ । ’
माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिमा करिब २५ सय सदस्य रहेका छन् । सबै एक ठाउँमा जम्मा भएर बैठक गर्न अप्ठ्यारो भएपछि प्रादेशिक तहमा बैठक आयोजना हुन लागेको हो । बैठकमा केन्द्रीय तहका नेताको पनि उपस्थिति हुने जनाइएको छ । अब आयोजक समितिमा जुन क्षेत्रबाट केन्द्रीय सदस्य बनेको हो त्यही क्षेत्रको बैठकमा सहभागी हुने बताइएको छ ।