काठमाडौं, भदौ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार विगठन गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा काँग्रेस–माओवादी गठबन्धनको नयाँ सरकार निर्माण भएको २२ दिन भईसकेको छ ।
तर कुन व्यक्तिलाई कुन मन्त्रालय दिने भन्ने विषयमा काँग्रेस भित्र तीन खेमाबीच कुरा नमिल्दा सरकारले अझै पूर्णंता पाउन सकेको छैन ।
यसैसन्दर्भमा आफ्नो भागमा परेका ११ मन्त्रीको नाम टुंग्याउन सकस परिरहेका बेला रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग ५ वटा मन्त्रालय मागेका छन् । तर, देउवाले ४ मन्त्री र दुई राज्यमन्त्री मात्र पौडेल गुटलाई दिन चाहेका छन् ।
सिटौलादेखि खुमबहादुर र आफू पक्षीय नेतालाई व्यवस्थापन गर्न समस्यामा परेका देउवाले अहिले चारवटै मन्त्रालयमा मान्न बरु पछि राज्यमन्त्री थप गर्न सकिने भन्दै पौडेललाई भनेको काँग्रेसका एक केन्द्रीय नेताले अखवार डटकम लाई बताए ।
देउवाले जे जस्तो मन्त्रालयको ललिपप् देखाएपनि पौडेल पक्ष भने ५ वटै मन्त्रालयको अडानमा रहेको बताइएको छ । पौडेलको असन्तुष्टीपछि देउवाले दूत बनाएर विमलेन्द्र निधिलाई मंगलबार राती उनको निवास पठाएका थिए । तर, पौडेलले निधिलाई ठाडै अस्वीकार गरी देउवासँगै छलफल गर्ने भनेर उनलाई फर्काइदिएका थिए ।
वधि, पद्धति र प्रक्रियाबाहिर गएर सभापतिले आफ्नो पक्षलाई सम्मान नगरी आफैंले तोकेर मन्त्रालय दिन खोजेको भन्दै पौडेल पक्षले के गर्ने भन्ने धारणा बनाउन अहिले आफू पक्षीय नेताको भेला गरिरहेका छन् ।
आफ्नै टिममा पनि कसलाई मन्त्री बनाउने भन्ने अन्तिम निर्णय लिन देउवालाई सकस परिरहेको छ ।
१९ साउनमा प्रधानमन्त्री चुनिए पनि झण्डै एक महिना हुन लाग्दा कांग्रेसले आफ्नो तर्फबाट १३ मध्ये दुई मन्त्रीलाई मात्र सरकारमा पठाएको छ ।