किन अमेरिका गएनन् प्रधानमन्त्री

राजनीति

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम समयमा संयुक्त राष्ट्रसंघको १७ औं महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम रद्ध गरे। भारत भ्रमण गरेर स्वदेश फर्केको भोलिपल्टै उनी आज अमेरिका जाने कार्यक्रम रहेको थियो। दाहालले अन्तिम समयमा किन अमेरिका जाने कार्यक्रम रद्ध गरे ? भनेर राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। प्रधानमन्त्रीले आइतबार अबेर मात्र आफ्नो भ्रमण रद्ध गरेका थिए।

भारतबाट आइपुग्दा यता दाहालको अमेरिकाको लागि लगेज तयारि अवस्था थियो। तर दहालले दिल्लीबाट उड्दै गर्दा जहाजमा नै आफु निकटहरुसँग ‘अमेरिका जाउँ की न जाउँ भैरहेको छ’. भनेर सुनाएको स्रोतले बतायो। समाचार स्रोतका अनुसार दाहालले जहाजमा नै रमेशनाथ पाण्डेको लेख पढेका थिए। उक्त लेख पढेपछि तुरुन्तै उनले जहाजमा नै परराष्ट्र सल्लाहकार डा. ऋषी अधिकारीसँग के गर्ने होला भन्दै प्रश्न गरेका थिए। स्रोतका अनुसार अधिकारीले प्रष्ट जवाफ दिन सकेनन्।

दाहाल भारतबाट फर्के पछि व्यवस्थापिका संसदमा सभामुख ओनसरी घर्तीले संविधान दिवसको अवसरमा राखेको कार्यक्रममा पुगे। त्यस पछि सिधै बालुवाटर स्थित प्रधानमन्त्री निवासमा आएका उनले साँझ सल्लाहकारहरुको आकस्मिक बैठक बोलाए। साँझ ७ बजे बालुवाटरमा सल्लाहकारहरुको बैठक बस्यो। त्यहाँ पनि प्रधानमन्त्रीले खै महासभामा जाउँ की के गरौं? भन्ने प्रश्न राखे। उनको यो प्रश्नले अमेरिकाको भिषा लागेकाहरुको मन चिसो भयो। प्रधानमन्त्री अमेरिका न जाने भएपछि आफ्नो अमेरिका भ्रमण गर्ने सपना अधुरो हुने भयो भन्दै सचिवालयका भिषा लागेकाहरु निरास बने। स्रोतका अनुसार प्रधानमन्त्रीले त्यतिवेलै भने, ‘अमेरिका जाने भनेपछि साथीहरु उत्साही पनि हुनु भयो तर त्यहाँ परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्नु हुन्छ।’ प्रधानमन्त्रीले यो भनेसँगै उनको अमेरिका भ्रमण क्यान्सिल भयो।

तर कतियले भने अख्तियारले लडाकु शिविरको रकम घोटला प्रकरणको छानविन थाले पछि त्यसै कारण उनी अमेरिका नगएको समेत बताएका छन्। प्रधानमन्त्रीको सचिवालयले भने यसलाई अस्विकार गरेको छ।

विशेष कारण देखाउँदै प्रधानमन्त्रीले अमेरिका भ्रमण स्थगित गरे पनि प्रतिपक्षी एमालेको तिब्र विरोध र मधेसी दलको दवाव प्रमुख रहेको एक माओवादी नेताले बताए। प्रधानमन्त्रीको निजी सचिवालयले देशको पछिल्लो राजनीतिक घटनाक्रमको मध्यनजर गर्दै अमेरिका भ्रमण रद्द गरिएको जनाएको छ।यसअघि मधेसी मोर्चालगायतले संविधान संशोधन गर्नुपर्नेमा भन्दा दाहाल विदेश भ्रमणमा केन्द्रित भएको भनेर आपत्ति जनाउँदै आएका थिए। प्रधानमन्त्रीले संविधान संसोधन, प्रतिपक्षी दलहरुसँग सहकार्य, भूकम्प पीडितलाई आर्थिक निकासा र संविधाको कार्यान्वयनको लागि काम गर्न भन्दै भ्रमण रद्ध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

२४ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण तय गरेको थियो।