नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टिकाटिप्पणी गर्ने काम भइरहेको बताएका छन् । नेपाली कांगेस तनहुँ क्षेत्र नम्बर २ (क०)ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उहाँले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गरे ।
केन्द्रीय सदस्य पौडेलले नेपालको सङ्घीयता गतिशिल ढङ्गले अगाडि बढ्न नसक्नुको कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताए । “नेपाली काँग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएको थियो । त्यो निर्वाचन जित्नका लागि मात्र थियो”, उनले भने ।
काँग्रेसको नेतृत्वमा आएको संविधान रक्षा गर्न काँग्रेस तत्पर रहेको पौडेलले बताए ।
संसद् विघटनको विरोधमा नेपाली कांग्रेस तनहुँले आज चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ क्षेत्र नं १ (क) को भानु नगरपालिकास्थित बाइसजाँगरमा, (ख) को आँबुखैरेनीमा, तनहुँ क्षेत्र नं २ (क) को खैरेनीटारमा र (ख) को घिरिङमा विरोधसभा सम्पन्न भएको छ ।