काठमाडौँ, २६ मङ्सिर । कथाकार अमर शाहको कथा सङग्रह ‘कुरुक्षेत्र’ शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।
विसं २०३० र ४० को दशकमै साहित्यिक क्षेत्रमा नाम कमाएका शाहको २०४५ मा पहिलो कृति ‘आदियुग’ नाम कथा सङ्ग्रह प्रकाशित भएको थियो ।मध्यपश्चिम साहित्य परिषद्ले आयोजना गरेको ‘सर्जक र समीक्षकको दृष्टिमा कुरुक्षेत्र’ कार्यक्रममा बोल्दै सर्जक तथा साहित्यकारले कथाकार शाहले साहित्यमार्फत नेपाली समाजका विसङ्गती एवक् विकृतिमाथि सरल र सपाट भाषामा प्रहार गरेको बताउनुभयो ।
साहित्यकारहरूले शाहले नेपाली माटो, भूगोल र जीवनशैलीलाई जीवन्त शैलीमा अभिव्यक्त गरेको भन्दै कथाकारको प्रशंसा गर्नुभयो ।वरिष्ठ साहित्यकार एवम् प्राज्ञ अमर गिरिले कथाकार शाहका कथाले समाजमा मूल्य र मान्यतामा भैरहेको क्षयीकरणविरुद्व मार्मिक तरिकाले हस्तक्षेप गरेको छ भन्नुभयो ।कथाकार शाहका कथा समकालीन नेपाललाई नियाल्ने आँखीझ्याल हो, प्राज्ञ गिरिले थप्नुभयो ।
पुस्तकमाथि चर्चा गर्दै साहित्यकार नयनराज पाण्डेले शाहको लेखनबाट आफ्नो लेखनमा समेत प्रभाव पारेको भन्दै सरल, सजिला र अपेक्षा गरिएका चरित्रहरू कथामा ल्याएर शाहले स्थापित गराउनु भएको छ भन्नुभयो ।
त्यसैगरी डा मधुसुदन गिरिले शाहका कथामा वर्तमानको तस्विर पाइएको र मजदुर, सर्वसाधारण र विशेषगरी पश्चिम नेपालको जीवनशैली झल्केको बताउनुभयो ।याम्बुरी बुक प्वाइन्टले प्रकाशन गरेको पुस्तक १५६ पृष्ठको छ । पुस्तकमा राजनीति, समाज, समसामयिक घटना, सुशासनलगायत २२ कथा समेटिएका छन् ।
सल्यान जिल्ला भल्चौर गाविस–३ का स्थायी बासिन्दा शाह निजामती सेवाका सहसचिव हुनुहुन्छ । रासस