काठमाडौँ, ६ पुस । रतन दर्शनको नयाँ गजलसङ्ग्रह ‘सिरानी’को शनिबार यहाँ विमोचन गरियो ।
कालीकोटमा जन्मी हुर्कनुभएका दर्शनको गजलसङ्ग्रहमा प्रेम, बिछोड, दुःख, व्यथा तथा सामाजिक कुरीति आदिलाई मुख्य विषयवस्तु बनाई प्रस्तुत गरिएको छ । ह्याट्रङ मिडिया प्रालिद्वारा आयोजित कार्यक्रममा गजलगो ज्ञानुवाकर पौडेलले आफ्नो मनमा उत्पन्न विचार र अनुभूतिलाई निष्ठाका साथ गजलमा प्रस्तुत गर्नुपर्ने औँल्याउँदै गजलमा गलाको साथसाथै कलालाई पनि छुटाउन नहुनेमा जोड दिनुभयो ।
साहित्यकार एवं पत्रकार हरि अधिकारी, साहित्यकार बाबु त्रिपाठी, गजल गायक दिनेशकुमार दाहाललगायतले गजलको रचना गर्नु कठिन कार्य हो र यसका लागि धेरै मेहनत र परिश्रम आवश्यक छ भन्नुभयो । पत्रकार हेम सुवेदीले गहिराइमा पुगेर सिर्जित गजलले समाजको जीवनशैलीमा परिवर्तन ल्याउनसक्ने बताउनुभयो । रासस