नेपालको सार्वजनिक प्रशासनः सिद्धान्त र व्यवहार विमोचन

साहित्य

काठमाडौँ, ८ पुस । सार्वजनिक प्रशासन विषयका विज्ञका लेख रचना समावेश गरिएको नेपालको सार्वजनिक प्रशासन ः सिद्धान्त र व्यवहार नामक पुस्तक आज विमोचन गरिएको छ ।

विभिन्न ४४ जना विज्ञका ४६ सार्वजनिक प्रशासन र यससँग सम्बन्धित लेखहरु समावेश गरिएको सम्पति मासिक पत्रिकाद्वारा प्रकाशित उक्त पुस्तकको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विमोचन गर्नुभयो ।विमोचन समारोहमा उहाँले नयाँ समृद्ध नेपालमा सेवाग्राही जनताले प्राप्त गर्ने सेवा सुविधा छिटो छरितो हुनुपर्नेमा जोड दिनुभयो ।नेपालमा चरणवद्धरुपमा भएका परिवर्तनसँगै सार्वजनिक प्रशासनको क्षेत्र अपेक्षितरुपमा विकसित बन्न नसकेको उहाँको भनाइ थियो ।

देशलाई समृद्धतातर्फ लैजान स्थायी शान्ति र दिगो विकास आवश्यक भएको उल्लेख गर्दै उहाँले संविधान निर्माणलाई यथाशक्य सहमतिका आधारमा सम्पन्न गर्ने योजनाअनुरुप दलहरुबीच छलफल भइरहेको बताउनुभयो ।उहाँले सार्वजनिक पुस्तक सार्वजनिक प्रशासन र यससँग सम्बद्ध सबैको लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री माधव पौडेलले नेपालको सार्वजनिक प्रशासनलाई चुस्तदुरुस्त बनाउन राजनीतिक हस्तक्षेपको क्रम अन्त्य गर्नुपर्ने बताउनुभयो ।जनताले सुशासनको अनभूति गर्न नसकेकामा जोड दिँदै उहाँले जनतालाई सुशासनको प्रत्याभूति हुने किसिमको सार्वजनिक प्रशासन वर्तमानको आवश्यकता भएको बताउनुभयो ।

कानुन मन्त्रालयका सचिव भेषराज शर्माले सार्वजनिक पुस्तकमा उल्लेखित विषयवस्तुहरुले नेपालको सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गनिर्देश गर्नसक्ने बताउनुभयो ।पुस्तकका सम्पादक गोविन्दप्रसाद चौलागाईं, सल्लाहकार किरण शर्मालगायतले नेपालको सार्वजनिक प्रशासनका विद्यमान सिद्धान्त व्यवहारमा लागू हुन नसकेकामा जोड दिनुभयो ।

पुस्तकका लेखकहरुले प्राप्त गर्ने पारिश्रमिकस्वरुपको रु ५० हजार रौतहट जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोगार्थ प्रदान गरिने तथा पुस्तक विक्रीवापत प्राप्त हुने ३० प्रतिशत रकम रौतहट, पर्वत, डोल्पा र स्याङजा जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गरिने जनाइएको छ ।

उक्त अवसरमा सम्पति न्यूज डट कम अनलाइनको शुभारम्भ गरिएको थियो । रासस

Post Comment