काठमाडौँ, १४ पुस । मकालु साहित्य समाजको आयोजनामा सङ्खुवासभाको खाँदबारीमा यही पुस १० र ११ गते साहित्य महोत्सव सम्पन्न भएको छ ।
समारोह आरम्भ खाँदबारीमा र समापन चैनपुरमा भएको थियो । यसअघि देवकोटा चोकमा रहेको महाकवि देवकोटाको सालिकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले माल्यार्पण गर्नुभएको थियो । माल्यार्पणपछि पञ्चैबाजासहितको पदयात्रा मुख्य बजार परिक्रमा गर्दै भानु चोकमा पुगी भानुको सालिकमा माल्यार्पण गरेर टुँडिखेल पुगेको थियो ।
अघिल्लो दिन खाँदबारी बजारको टुँडिखेल र भोलिपल्ट चैनपुर बजारको टुँडिखेल साहित्य र संस्कृतिमय बनेको थियो । दुवै ठाउँका समारोहमा उप्रेतीको प्रमुख आतिथ्य एवम् कवि अनिल पौडेल, प्राज्ञ नरनाथ लुइँटेल, सोमराज अभय, गण्डकी पुत्र, खड्ग चापागाई आदिको आतिथ्य तथा आयोजक समितिका संयोजक ताराबहादुर बुढाथोकीको सभापतित्व भएको थियो ।
खाँदबारीको समारोहमा दुई बाल स्रष्टासहित भरत भरिया, पुष्पराज ओझा, गोपाल निरौला, कृष्णबहादुर चापागाइँ, ओजेल लकुवाली, सुरेश थापा, चूडामणि खनाल, केदारनाथ ढकाल, रामप्रसाद लम्साल, शम्भु खड्गी, नरेन्द्र न्यौपाने, पुरुषोत्तम पोखरेल, वसन्त तामाङ, एक्टर राई, जयबहादुर घिमिरे, जयन्ता पोखरेल, रवीनकुमार कालीकोटे, रोशनदीप राई, लालनाथ अधिकारी आदिले सिर्जना वाचन गर्नुभयो ।
कार्यक्रममा सङ्खुवासभाकै आवाज शेर्पा, अभय महत, बीरबहादुर लिम्बू, उमङ्ग लामा आदिले साङ्गीतिक प्रस्तुति दिनुभयो । हिमालय माविका छात्राद्वारा नृत्य प्रस्तुतिसमेत भएको समारोहमा खाँदबारी नगरपालिकाका कार्यकारी प्रमुखले कुलपति उप्रेतीलाई अभिनन्दनपत्र अर्पण गर्नुभयोे । त्यसैगरी उप्रेतीले सङ्खुवासभाको साहित्यिक गतिविधिमा इतिहासदेखि नै उल्लेखनीय योगदान प्रदान गर्ने स्रष्टा धनञ्जय खनाल र खेम नेपालीलाई अभिन्दन गर्नुभयो ।
त्यस्तै यहाँका साङ्गीतिक प्रतिभा बीरबहादुर लिम्बू र उमङ्ग लामा, पत्रकार गङ्गा विष्ट र दीपेन्द्र शाक्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो । अर्का गायक ध्रुव दिवानको गीति एल्बम पनि समारोहमा विमोचन गरिएको थियो । समारोहमा प्रा डा टङ्क न्यौपानेले सङ्खुवासभाको साहित्यिक र सांस्कृतिक जागरणको इतिहास स्मरण गर्नुभयो । खाँदबारी र चैनपुरका दुवै समारोहमा हास्यकलाकार राजा राजेन्द्रको हास्य प्रस्तुतिलाई धेरै दर्शक स्रोताले मन पराएका थिए ।
चैनपुरको दोस्रो दिनको समारोह चाहिँ माधवप्रसाद कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । चैनपुरमा साहित्यिक जागरण कालका पुराना स्रष्टा रङ्गर्मी पदमप्रसाद पौडेल, साहित्यकार घनेन्द्र शर्मा, कवि ज्ञान उदास र अर्जुन चैनपुरेलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो ।
महिला समूहका तर्फबाट सामूहिक सँगिनी प्रस्तुत गर्दै अतिथिलाई स्वागत गरिएको समारोहमा सरस्वती मावि र चैनपुर बोर्डिङ स्कुलका छात्राहरूले आकर्षक नृत्य तथा लाखेनाच, बालन र भजन, संगिनी आदिको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । समारोहमा अतिथि स्रष्टाका साथै स्थानीय स्रष्टा मीरा न्यौपाने, रवीन्द्र नियोङ, हेमकुमारी, भीमबहादुर कँडेल, भीमप्रसाद भट्टराई, जयराम सनामी, ज्ञानु राई, राजेन्द्र सर्वहारा, कृष्णप्रसाद गौतम, एकु घिमिरे, नारायणकुमार श्रेष्ठ आदिले आफ्ना रचना प्रस्तुत गर्नुभयो ।
प्रमुख अतिथि उप्रेती, अतिथि घनेन्द्र शर्मा, अभय, ज्ञानबहादुर कार्की, बुढाथोकीलगायत राजनीतिक दलका स्थानीय नेताले सङ्खुवासभाका साहित्यिक गतिविधिमा महोत्सव ऐतिहासिक घटना भएको उल्लेख गरेका थिए । गुराँस, सुनाखरी र खाँदबारी एफएमले दुवै समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए । रासस