बाटो कुर्दै छु !

शुक्रबार , साउन २७, २०७९
साहित्य

Snip20150103_40

बिहानको नौ बज्या छ ।

हिजोको पीडाले गर्दा म आज अहिलेसम्म सुतेकै छु ।

मेरो घरमा दशै दिशाबाट नेताहरु बैठक कोठामा प्रवेश गरेपछि मेरो सुकला जाग्राममा परिणत भएको छ । श्रीमती ‘चिया/चिनी छैन’ भनेर सिरकमा आझै घुस्रिदै सुत्ने निहुँ गर्दैछे ।

छोरा/छोरी बोर्डरपारि कोही खेल्न गएका , कोही खेलाउन लगिएका छन् ।

दशै दिशाबाट आएका नेताजीहरुले आ-आफ्नो दिशाअनुरुप अभिवादन गर्नथाले ।

“गुडमनिङ! माने, पूर्वेली शुभप्रभात!” पूर्वबाट नेपाल पसेका नेताले अविभादन गरे ।

“गुडइभनिङ! माने, पश्चिमेली शुभसन्ध्या!” पश्चिमबाट नेपाल पसेका नेताले अभिवादन गरे ।

“रेड स्यालुट! माने, उत्तरी लाल सलाम!” उत्तरको दबाब बोकेका नेताले अभिवादन गरे ।

“लङलिभ हिन्दु! माने, दच्छिनी जय हिन्दुस्तान!” दच्छिनको दच्छिना र छाता बोकेका नेताले अभिवादन गरे ।

यी मुख्य चार दिशाका चारवटा चेपहरु नैह्रित्य, ईशान, नायव्य-सायव्य भनिने कुनाकाप्चाबाट आएका नेताहरुले पनि आ-आफ्नो अभिवादन ठोके ।

यी आठ दिशाबाट पैदल हिंडेर आएकाहरु प्राचीन भए ।

दश दिशामध्ये अब बाँकी दुई दिशा आकाश र पातालबाट वायुपंखी घोडा चढेर डलरका थैली हल्लाउंदैआएका नेताले ‘इन्टरनेट’ बाटै, “गुड फ्युचर! वेक अप, गुर्खा!” भनेर अभिवादन ठोके ।

यी वायुपंखी घोडा चढेर आएकाहरु आधुनिक भए ।

मैले पनि हत्तनपत्त आँखा मिच्दै अभिवादन गरें, “हजूर! प्रभु ! ख्वामित!सरकार!अन्नदाता!नमस्कार,प्रणाम, जदौ!!!”

मैले यति भनेर आँखा च्यातिच्याति हेर्दा देखें, विभिन्न दिशा र दिशाका चेपबाट आएका नेताहरु कि त कुखुराका चल्लाझैं दच्छिनको छातामुनि पस्दैछन् कि त आकाश/ पातालबाट आएका नेताका हातमा हल्लिंदैगरेको थैलीतिर र्‍याल चुहाँउदै टिठ लगाएर हेर्दैछन् ।

म बिरामी नेपालतिर कसैले पनि हेरेको देखिनं ।
अब मेरो हेरविचार पनि विदेशी रेमिट्यान्सबाटै हुने हो कि ?

Post Comment