रुपायन’को ‘कविता विशेषाङ्क’ प्रकाशित

साहित्य

काठमाडाँै, ४ माघ । नुवाकोटबाट प्रकाशन भइरहेको साहित्यिक त्रैमासिक पत्रिका ‘रुपायन’ले आफ्नो १५औँ अङ्क कविता विशेषाङ्क(कात्तिक–पुस,२०७१) का रूपमा प्रकाशन गरेको छ ।

प्रेस काउन्सिल नेपालबाट साहित्यिक पत्रिकाको क्षेत्रीयस्तरको क वर्गमा वर्गीकृत(आव २०६८/६९देखि) सो पत्रिकाको नयाँ विशेषाङ्कमा हाल क्रियाशील नेपाल र भारत दुवै देशका विभिन्न धारामा गद्य र पद्य कविता लेखिरहेका २३ कवि समेटिएका छन् । नेपालका कला अनुरागी, केशव सिलवाल, चिरञ्जीवी लामिछाने, जेबी विश्वकर्मा, तेजविक्रम कार्की, दीपेन्द्र अधिकारी, नवराज पराजुली, नारायण निराशी, पुरु लम्साल, फूलमान बल, भूपिन व्याकुल, यशोदा अधिकारी, राजु स्याङ्तान, रामगोपाल आशुतोष, रेनुका भट्ट, विष्णु भण्डारी, सङ्गीत स्रोता, सरिता तिवारी, हरिमाया भेटवाल तथा भारतका मनोज बोगटी, राजा पुनियानी र रवि रोदनका दुई दुई कविता त्यसमा परेका छन् ।

युवा समालोचक प्रभाती किरणले ‘आजका नेपाली कविताहरू’ शीर्षकमा आलेख लेख्दै कविको कवित्व कति छ भन्ने कुराको जाँचका लागि पनि यी कविताहरूहको अध्ययन महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । यसअघि नुवाकोटेली कथा र निबन्धका दुई विशेषाङ्क प्रकाशन गरिसकेको पत्रिकाले अर्काे वर्ष ‘राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क’ निकाल्ने योजना राखेको प्रधानसम्पादक नवदीप अजनबीले जानकारी दिनुभयो । रासस

Post Comment