वसन्त र जीवन

सोमबार , साउन २३, २०७९
साहित्य

ऋतुराज वसन्तको आगमन भएको छ …. शीतकाल समाप्तिको घोषणा गर्दै
वसन्तलाई अभिनन्दित गर्दै शिशिर गएको छ …. आफूसँगै कफ, बाथ र चिसो लिएर ….
हरियालीले बसुधालाई सिगार्न थालेको छ … धरतीको काया बदलिँदै छ ….
उर्बिले दुबोका मुना उमार्न थालेकि छे …. मृगसावकहरु रमाएर कलिला दूवोका स्वादन गर्दैछन्
नाङ्गिएका पिपल र सल्लाहरु टुसाउन थालेका छन् …. फूलका कोपिलाहरु प्रष्फुटित हुँदैछन् ….
तोरीका पीतपुष्पका साथै अनेकन् रङ्गका फूलहरू फुल्दैछन् … भवराहरुलाई आकर्षित गर्दै
चहुँओर हरियाली …. रंगिबिरंगि सुन्दर पुतलिहरुको यत्रतत्र उडान ….
शीतल पवनको बहाव …. पवनमा फूलको मादक सुगन्ध …. भवराहरुको मधुर गुञ्जन
प्रकृति र हृदय बीचको गहिरो सम्बन्ध उजागर हुँदैछ ….
मन्त्रमुग्ध पार्ने सौन्दर्यमय वातावरणले मोह उत्पन्न गर्दैछ ….
मोहले हृदयमा प्रेमरस सिँच्न थालेको छ …. प्रेमरसले प्रेमभावको उत्पत्ति गर्दैछ ….
दृष्टि सुन्दर हुँदैछ …. फलतः प्रकृति सुन्दर देखिँदैछ ….
प्रकृतिको जादु चल्दैछ हृदयमा …. धरा प्रेमोमय हुँदैछे ….
रुखका हाँगाहरुमा पन्छिहरु चिर्बिराउन थालेका छन् ….
वसन्तलाई गला खोलेर स्वाग गरिरहेछन् …. गीत गाईरहेछन्
कतै पातला जोडिहरु पनि हाँगाहाँगा उफ्रद देखापर्दै छन्  … गुँडका लागि स्थान चयन गर्दैछन् ….
वसन्त, उमंगको मौसम …. प्रणयको मौसम …. प्रेमको मौसम …. हृदय मिलापको मौसम ….
शीतकालको चीसो गलाउन प्रेमरसको बर्षात गरौँ …. प्रणय गासौँ …. हृदय जोडौँ ….
आऊ …. वसन्तलाई हृदय खोलेर स्वागत गरौँ ….

हृदय पुलकित भएको छैन ? दृष्टिले रौनकता पाएको छैन ?
अचम्म !
अर्थ त यो भयो कि, हृदय प्रकृतिसँग जोडिएको छैन …. स्थितिले परिवर्तन आत्मसात गरेको छैन ….
खै ! कहाँ बिस्मृत पार्ने फेरबदल भयो र ….
धरा उही हो …. बसुधा उस्तै थिई …. उर्बि उस्तै रहिरहन्छे ….
बदलिएको त मौसम हो …. फेरिएको त ऋतु हो …..
फेरि बिस्मात किन ! उदासी किन !
शिशिर भर्खरै गएको छ …. वसन्त भर्खरै आएको छ …
आउने जाने त समयको रित हो …. कालको फेर मात्र हो ….
स्वागत गर धरतीलेझैँ  …. चुपचाप हृदय खोलेर … आँखाले देख्ने रंगहरुलाई ….
सोच त …. जीवन कहिले रंगहीन थियो र !
जन्मसँगै सुखदुखका सेताकाला रंगहर जोडिएरै आए … जोडिइ नै रहन्छन् ….
जीवन जिउँन बस यी दुई रङ्ग काफि छन् …. बस यी दुई अवस्था पर्याप्त छन् ….
बाँकी रङ्ग मूल्यहिन छन् ? अर्थ त यो पनि होइन ….
रङ्गले जीवनको एकरसता हटाउँछ …. तर सादापनको मूल्य पनि सम्झाउँछ …..
रङ्ग हृदयका कामना हुन् …. हृदयले चाहने जीवनको सौन्दर्य हो ….
फेरि आफ्नै हृदयसँग छल कस्तो ? आफ्नै भावनासँग बठ्याईँ किन ?
परिवर्तन बोकेर समय आएको छ …. धराको र मानव हृदयको लागि पनि ….
भर आँखामा कामनाका रंगहरु …. सजाउ हृदयमा चाहनाका सपनाहरू
नचिम्ल आँखा …. सपना, खुल्ला आँखाले देखेका मात्र पूर्ण हुन्छन् ….
कोमल नबनाउ हृदय …. कठोर हृदयका कामना मात्र सफल हुन्छन् ….
भर आफूमा उदात्तता …. आत्मसात गर प्रकृतिलाई ….
कामना पूर्ण हुनेछन् …. सपना साकार हुनेछन् ….
अहिले वसन्त आएको छ ….

जीवन सुन्दर छ …. सुन्दरता भित्र कठोरपना पनि छ ….
हिमाच्छादित पर्वतका शिर जस्तै …. सुन्दर तर कठोर ….
अघि बढने बाटो अनेकौँ छन् …. यहाँ तिमीले मार्गदाता पाउँदैनौ ….
भाग्यले, मात्र मार्गदर्शक पाउने छौ …. ती बाटो देखाउँछन्, जान्छन्  …. आफ्नै मार्गमा ….
अगाडि तिमीलाई बढनु छ …. मार्ग आफूले चुन्नु छ भने फेरि दुबिधा कस्तो ?
परिश्रम अगाडि बढ्नमा हुँदैन …. परिश्रम कता अगाडि बढने भन्ने निर्णय लिँदा हुन्छ …
आफूलाई विश्वास गरेर मार्ग छान … छानेको मार्गमा विश्वास राख ….
आउने कठिनाइसँग सामना गर्ने हिम्मत छ भने …. अगाडि बढने आत्मबिश्वास छ भने …
बाटोले तिमीलाई मार्गप्रशस्त गरिदिन्छ …. मार्गले नै तिम्रो अनुगमन गर्नेछ ….
हो, यतिबेला मन कष्टको कल्पनाले अवश्य विचलित हुन्छ …. तर कष्टसँग किन डराउने ?
कष्ट नै त समय समयमा मानवलाई कसि लगाउँदै अगाडि बढाउने प्रेरक शक्ति हो नि !
सतपथमा अगाडि बढ्छौ भने एक्लोपन बाधा होइन …. भीडको आवश्यकता छैन
भीडमा मानिसको विवेक हराउँछ, …. मानिस परिचालक हुँदैन, परिचालित हुन्छ ….
सतपथमा विवेकहिन भीडको के आवश्यकता ! परिचालित मस्तिष्कको के उपयोगिता ….
तिमी एक्लो हुनेछैनौँ …. ज्ञान र विवेक तिम्रा मार्गका दुई सारथि हुनेछन् ….
उदेश्यलाई दीयालो बनाऊ …. उज्यालो प्रशस्त हुनेछ ….
महत्व बहुमुल्य दीयोको हुँदैन … महत्व दीपकको हुन्छ …
अन्धकार चिर्न एक दीपक पर्याप्त हुन्छ …. जलाउ अज्ञान …. बाल विवेक …. बढ अगाडि ….
सफलता झुक्दै तिम्रो पाउमा श्वस्ती गर्नेछ …. विजय अघि आएर तिमीलाई माल्यार्पण गर्नेछ …

हृदय चक्षु खोलेर निहार त ….
परिवर्तनको समय हो यो …..
अहिले, वसन्त आएको छ …..

अस्तु ।

Post Comment